पुस २२ देखि माघ ३ गतेसम्म दमौलीमा हुने पाँचौ आदिबासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा हुने महोत्सवको भोलि पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको ९० प्रतिशत काम सम्पन्न भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए । त्यस्तै महोत्सवको ९५ प्रतिशत स्टल बुकिङ्ग भैसकेको प्रवक्ता थापाले जानकारी दिए ।
त्यस्तै महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचनले जानकारी दिए ।
महोत्सव विपी वनवाटिकाको खेल मैदानमा हुने छ । महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइने महोत्सवका निर्देशक बसुन्धरा घर्तीले बताइन् । त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइन्स, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहने घर्तीले बताइन ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवका आकर्षण :

सांस्कृतिक झाँकीसहित प्रभातफेरी, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला रहेको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमुना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् । त्यस्तै राष्टिय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुती रहनेछ ।

महोत्सवलाइ थप मनोरञ्जन दिन राष्टिय कलाकारहरु पशुपति शर्मा, खेम सेन्चुरी, राजु परियार, प्रिति आले, भूमिका गिरी, कला लम्साल, बद्री पंगेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिप सिं राना, अस्मिता डल्लाकोटी लगायतका कलाकार आउने बताइएको छ ।