नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजित साँस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन् ।

देश सम्पन्नताको बाटोमा जानको लागि राजनीतिक स्थिरता, सुशासन, दु्रत विकास आवश्यकता भएको उनले बताए । देशमा स्थायित्व, विकास, सुशासन र गाउँमै आम्दानी र रोजगारीको लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउँदै पौडेलले यसका लागि तम्ततयार हुनको राजनीतिक दललाई आव्हान गरे । ‘देशलाई सहमतिको आवश्यक छ, राष्ट्रिय सहमतीको सरकार निर्माण गर्न नेताहरुले हिम्मत गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भने । साथै उनले कृषि क्रान्ति, पर्यटनको विस्तार तथा उद्योग व्यवसायको सञ्चालन गर्नु आवश्यक भएको बताए ।

साथै उन्नत र स्वावलम्वी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक भएको पौडेलले बताए । रोजगारीको खोजीमा विदेश जाने युवा शक्तिलाई देशभित्र नै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गरी श्रमप्रति सम्मान एवं सकारात्मक सोचको विकास गराई स्वरोजगार तथा उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए। साथै उनले वर्तमान राजनीतिक परिवर्तन र सत्ता गठबन्धनका कारणबाट कुनै पनि कार्यकर्ताहरुलाई बिचलित नहुन आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, गण्डकी प्रदेशका निर्वतमान मन्त्री डोबाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ, तनहुँ पर्यटन विकास समिति अध्यक्ष हरिसिंह गुरुङ, मिलीजुली युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङ, खेल संयोजक सिद्धान्त थापा लगायतले देश र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।