
आज मंसिर ४ गते । सबै नेपालीका लागि बहुप्रतिक्षित दिन । आगामी ५ वर्षका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्नका लागि देशैभरिका १८ वर्ष उमेर पुगेका सचेत नागरिकले मतदान गर्ने दिन ।
देशका ७७ वटै जिल्लामा एकै दिन एकै समयमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, आज हुने निर्वाचनका लागि तनहुँमा पनि सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, तनहुँका अनुसार जिल्लाका १४२ मतदानस्थलमा रहेका ३०५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण सम्पन्न गरेका छन् । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउनका लागि स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर मतदान केन्द्र व्यवस्थापनको काम सम्पन्न भएको मतदात अधिकृतहरुले बताएका छन् ।
तनहुँमा ४८६ जना नेपाली सेना, ३३३ जना सशस्त्र प्रहरी, ७७८ जना नेपाल प्रहरी र एक हजार ३९२ जना म्यादी प्रहरीपरिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा स्थानीय तह रहेको तनहुँमा १४२ मतदान स्थल, ३०५ मतदान केन्द्र तोकिएका छन् भने २ लाख ४८ हजार ४ सय ९५ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यसैबीच, जिल्लामा निर्माण गरिएका दुई अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दलबहादुर केसीले जानकारी दिए । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
यस निर्वाचनका लागि तनहुँमा तीन हजार तीन सय ६० कर्मचारी खटाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक हजार दुई सय २० स्वयंसेवक पनि नियुक्त गरिएको छ । निर्वाचनका लागि प्रयोग हुने ६१ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरु मतदान स्थलमा पुगिसकेको छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।
यसैबीच, निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक रहेको बताए ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको थपलियाले बताए ।
आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।
सरकारले आज र भोलि देशभर सार्वजनिक बिदा दिएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहिँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले आवश्यक तयारी गरिएको थपलियाले बताए । बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान
केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगको चेतावनी छ ।
निर्वाचन आयोगले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेको पनि बताएको छ ।
‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ प्रमुख आयुक्त थपलियाले भनेका छन् ।
तनहुँमा मतगणनाको लागि कडा व्यवस्था
तनहुँमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गर्नुका साथै बत्ति गएको समयमा बत्तिको व्याकअपको व्यवस्था समेत गरिएको छ ।
मतगणनास्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताए ।यसका अत्तिरित्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षाको बन्दोवस्त मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताए । ‘मतगणना निकै संवेदनशील हुन्छ । मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो उनले भने । निर्वाचन स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्यलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल वा अन्य निषेधित वस्तु लिएर जान निषेध गरिएकोे छ ।
मतदाताको ओहोरदोहोर
यसैबीच, आज हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान गर्नका लागि हिजो दिनभर र राती अबेरसम्म मतदाताहरुको ओहोरदोहोर चलेको थियो । मतदान गर्ने दिन सार्वजनिक सवारी साधन बन्द रहेकाले कतिपय मतदाताहरु शनिवार अबेरसम्म आफ्ना गाउँघरतिर फर्किएका थिए । त्यसैगरि, रोजगारी अध्ययन एवं विभिन्न कामको शिलशिलामा देशबाहिर रहेका व्यक्तिहरु मतदानका लागि आफ्नो क्षेत्रमा पुगेका छन् । मतदाताका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारहरुले निःशुल्क यातायाताको व्यवस्था गरेका थिए भने कतिपयले मतदाताका लागि खाजा खर्च भनेर नगदै दिएका थिए । उम्मेदवारका एजेन्ट र कार्यकर्ताहरुले गोप्य रुपमा पैसा बाँडेका थिए । एक जना मतदाताले २० हजार रुपैंयासम्म पाएको बताइएको छ ।
निर्वाचनमा तनहुँको अवस्था
तनहुँमा मुख्यतः गठबन्धन दलहरु (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरुकाबीच नै चुनावी प्रतिष्पर्धा हुनेछ ।
तथापि निर्वाचन कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ का लागि ११ र प्रदेशसभा २ का लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसैगरि क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ का लागि ८ र प्रदेशसभा २ का लागि ६ जनाको उम्मेदवारी कायम रहेको छ ।




