
सेतो कपासको भुवासरि कुहिरोको एकछत्र साम्राज्य । दुर छितिजसम्म सेताम्य, निःशव्द शान्त र सौम्य वातावरण र त्यहीबीच पूर्ववाट उदाउँदो सूर्यको लालिमा अनि त्यसैसंगै मुस्कुराउँदै टल्किएका स्वर्ण दन्तलहरसरि हिमश्रृंखला । सूर्यकिरणको न्यानोसंगै सिमलको भूवाझैं माथिमाथि बिस्तारै उड्दै जाने कुहिरो र कुहिरो खुलेपछि देखिने चिटिक्क परेको दमौली बजार, सेतीमादी नदीको चित्ताकर्षक नागबेली, साँगे, बुल्दी र छाव्दी खोलाका मोडहरु, कलेस्ती, गुणादी, जामुने र साँगेका हरिया फाँट, जिल्लाकै गौरवको रुपमा निर्माणाधीन तनहुँ जलविद्युतको बाँध र निर्माणस्थल एवं दर्जनौ मनोरम डाँडाहरु । हो, यति देखेपछि कसको मन नलोभिएला र ? मानहुँकोटको यही रुपले गर्दा अहिले त्यहाँ पुग्ने पर्यटकहरुलाई मोहनीनै लगाएको छ । र पुग्न नसकेकाहरुलाई जाउँजाउँ लागेको छ ।
हो, कार्तिक महिनामा जाडो र कुहिरो बढेसंगै तनहुँको व्यास नगरपालिका–५ स्थित सुन्दर पर्यटकीय गन्तव्य मानहुँकोटमा अहिले पर्यटकहरुको आगमन बढेको छ । मानहुँकोटको चर्चा परिचर्चा अहिले देश विदेशका सञ्चार माध्यमदेखि सामाजिक सञ्जालका भित्ताहरुमा भाइरल नै बनेको छ । जाडोसंगै कुहिरोको साम्राज्य फैलिदैं जाँदा मानहुँकोटमा पर्यटकको चहलपहल ह्वात्तै बढेको स्थानीयको भनाई छ ।
मानहुँकोटको चर्चा र सुन्दरता सुनेर देशका विभिन्न ठाउँबाट अहिले मानहुँकोट पुग्नेको ओइरोनै लागेको छ । आखिर मनै हो, प्रकृतिले कसलाई पो लोभ्याउँदैन र? जाडो मौसम शुरु भएदेखि आजकल दैनिक करिव १ हजार पर्यटक मानहुँकोट पुगेका छन् ।
विशेषतः सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेर र देखेर आफ्ना दौँतरीहरुसंगै मानहुँकोट पुग्ने युवायुवतीहरुको ताँती लागेको छ । फेसबुक, ट्वीटर, टिकटक जस्ता चर्चित सामाजिक सञ्जालका भित्ताहरु अहिले मानहुँकोटका दृश्य र भिडियोले सजिसजाउ भएका छन् । स्वर्गको टुक्रासरी मानहुँकोटको वर्णन शब्दमा सिमित गर्न मुस्किल छ । मानहुँकोट पुग्न र अवलोकन गर्न पाएकोमा पर्यटकहरु प्रफुल्लित र मन्त्रमुग्ध देखिन्छन् । ‘यहाँको दृश्यले मनै लोभ्यायो, अनि मोहनीनै लगायो’ काठमाण्डौंका रञ्जीत डंगोलले भने ‘जीवनमा एक पटक मानहुँकोटको अवलोकन अवश्य गरौं, प्रकृतिको अनुपम लीला रस्वादन गरौं ।’
अवसर र चुनौतीहरु
मानहुँकोटमा अवसर र चुनौती एकैचोटी भित्रिएको छ । एकातर्फ हजारौंको संख्यामा भित्रिने पर्यटकले मानहुँकोटको प्रचारप्रसार विश्वव्यापी भएको र प्रचुर पर्यटकीय सम्भावनालाई उजागर गरेको र अर्कोतर्फ पर्यटकहरुलाई सहजता, सुरक्षा, सुविधा र व्यवस्थापन गर्न चुनौती थपिएको छ । मानहुँकोटमा मानिसहरुको भीडसंगै वातावरणीय सरसफाईको समस्या पनि उत्तिकै चुनौती बनेको छ । मानहुँकोटमा पर्यटकको आकर्षण र चाप बढेपछि सोको व्यवस्थापन गर्न वडा कार्यालय र स्थानीयलाई मात्रै हम्मेहम्मे भएको छ । आवश्यक बजेट, साधन र स्रोतको अभावका कारण मानहुँकोटमा आवश्यक पर्यटकीय योजना र पूर्वाधार निर्माण गर्न समस्या भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
तनहुँमा उदाउँदो पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार हुँदै गरेको मानहुँकोटमा पर्यटकहरुको आगमन बढेसंगै दमौली बजारको स्वरुप र वातावरण पनि बदलिएको छ । अहिले दमौली बजारका होटलहरु पनि भरिन थालेका छन् भने बजारमा पनि चहलपहल निकै बढेको छ । होटलमा पाहुनाहरुको आगमन भएपछि दमौलीको आर्थिक कारोबारमा पनि बृद्धि भएको छ । मानहुँकोटको अवलोकनका लागि आउने पर्यटकहरु दमौली बजार संगै व्यास–परासर गुफा, तनहुँ जलविधुत आयोजना स्थल, छाव्दी मन्दिर, कलेस्ती लगायतका ठाउँमा पनि पुगेका छन् । जसले गर्दा ती क्षेत्रहरुको पर्यटकीय गतिविधीमा टेवा पुगेको छ ।
दशैं–तिहारमा मौसम पनि अनुकुल हुने भएको र बिदा पनि हुने भएकाले मानहुँकोटमा आन्तरिक र बाह्य पर्यटक पुगेका छन् । र लगत्तै जाडो मौसममा मानहुँकोटबाट देखिने कुहिरोको अनुपम लिला हेर्न र सूर्योदयको लोभलाग्दो दृश्य अवलोकन गर्न पर्यटकहरु त्यहाँ एकाबिहानै पुग्ने गरेका छन् ।
बिहान सबेरै देखि चापाघाटबाट मानहुँकोट जाने सवारी साधनको ताँती लाग्ने गरेको स्थानीय पत्रकार विवि श्रेष्ठले जानकारी दिए । रातको समयमा पनि मानहुँकोटमा टेण्ट टाँगेर रात बिताउने पर्यटक अत्याधिक रहेको होटल भ्यू टावरका सञ्चालक प्रेम राउतले जानकारी दिए । उनका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् ।
मानहुँकोटका थप विशेषता
जाडो मौसम शुरु भएदेखि र विशेषतः कुहिरो लाग्न थालेदेखि मानहुँकोटमा पर्यटक आगमन ह्वात्तै बढेको छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने र त्यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, हिमचुली, मनास्लु लगायतका हिमालका मनोरम दृश्यहरु एकै नजरमा अवलोकन गर्न सकिन्छ । यसैगरि चारैदिशामा रहेका दर्जनौ हरिया पहाड र नागबेली परेका खोला–नदीहरु र मनमोहक फराकिला फाँटहरु समेत यहाँवाट अवलोकन गर्न पाइन्छ । मानहुँकोट जैविक विविधता ले पनि निकै धनी छ । विभिन्न जाती प्रजातिका जडीबुटी, पशुपक्षी, र बन्यजन्तु मानहुकोटको अर्को विशेषता हो । मानहुँकोट भौगोलिक र प्राकृतिक दृष्टिले मात्र नभई मगर समुदाय भित्रको लोकसाँस्कृतिक दृष्टिले समेत निकै धनी रहेको छ । मगरहरुको रहनसहन, भेषभूषा, कला संस्कृतिको अध्ययनका लागि पनि यो ठाउँ चर्चित छ । सदरमुकाम दमौलीबाट ७ किलोमिटरको दुरीमा अवस्थित मानहुँकोट प्रशस्त पर्यटकीय सम्भावना बोकेको गाँउ हो । तर उचित प्रचारप्रसार हुन नसक्दा यो ठाँउ ओझेलमा परेको थियो तर हालसालै सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको अभूतपूर्व प्रचारप्रसारले यसको चर्चा ह्वात्तै चुलिएको छ र नेपालकै प्रमुख मध्येको पर्यटकीय गन्तव्यका रुपमा यसले स्थान जमाएको छ । र यसलाई एउटा अवसरको रुपमा लिन सकेमा मानहुँकोटको पर्यटकीय चिनारीका साथै समग्र तनहुँको पर्यटकीय गतिविधीमा यसले सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
पर्यटकीय पूर्वाधार
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै नगरपालिका र वडाको पहलमा यहाँ केही पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । दृश्यावलोकनका लागि पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा चारैतिर रेलिङ निर्माण गरिएको छ भने ३६ लाख ५० हजार रुपैयाको लागतमा ‘भ्यू टावर’ निर्माण गरिएको छ । मानहुँकोटमा मौलिक नेपाली पिङहरु, बञ्जी जम्प, प्याराग्लाइडिङ, होमस्टे, संग्रहालय, होटल, कटेज, बाटो, खानेपानी, सौचालय, विश्रामस्थल, दुरविन लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने पूर्व वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए । आधारभूत पूर्वाधार निर्माणका लागि करिव २ करोड रुपैया बजेट आवश्यक भएको र सो भएमा पोखरा आउने २५ प्रतिशत पर्यटकलाई मानहुँकोटमा पुर्याउन सकिने पनि उनले विश्वास दिलाए । मानहुँकोटमा रहेका सार्वजनिक र निजी जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै उनले अधिकाँश जग्गाहरु व्यापारी व्यवसायीको हातमा रहेकाले समस्या भएको बताए ।
यसैबीच, मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले बताए । होटलको क्षमता ५० जनाको रहेको बताइएको छ ।
मानहुँकोटको थप पर्यटकीय विकास र पूर्वाधारहरु निर्माण गर्न सकेमा वर्षैभरि यहाँ स्वदेशी र विदेशी पर्यटकलाई भित्र्याएर ठूलो आर्थिक लाभ लिन सक्ने प्रशस्त सम्भावनाहरु छन् जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्न जरुरी देखिन्छ ।




