मंसीर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा तनहुँमा त्रिपक्षीय भिडन्त हुने भएको छ । तनहुँमा मुख्यतः गठबन्धन दलहरु (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरुकाबीच चुनावी प्रतिष्पर्धा हुनेछ ।

तनहुँका दुई वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रमा गरेर ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ का लागि ११ र प्रदेशसभा २ का लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ का लागि ८ र प्रदेशसभा २ का लागि ६ जनाको उम्मेदवारी कायम रहेको छ ।

यसैबीच, तनहुँ क्षेत्र नं १ तर्फ दुई र तनहुँ क्षेत्र नं २ तर्फ तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए । आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल, नेकपा (एमाले)बाट एकबहादुर राना, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा छन् ।

स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरि, तनहुँ क्षेत्र नं २ तर्फ नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा (एमाले)बाट किरण गुरुङ, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

तनहुँ–१ मा पौडेल, राना र जोशीबीच टकराव

यसैबीच, तनहुँको क्षेत्र नं १ मा गत निर्वाचनमा गुमेको काँग्रेसको विरासत बरिष्ठ नेता पौडेलले जोगाउन सक्लान कि नसक्लान भनेर निकै चर्चा परिचर्चा हुन थालेको छ । सो क्षेत्रबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको उम्मेदवारका रुपमा छन् भने उनका दावहार प्रतिष्पर्धी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि नेकपा एमालेका नेता एकबहादुर रानापनि चुनावी मैदानमा खरो रुपमा उत्रिएका देखिन्छन् ।

तनहुँ क्षेत्र नं १ मा गएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव हारेका थिए । उनी एमाले नेता कृष्ण कुमार (किसान) श्रेष्ठसँग चुनाव हारेका थिए । वाम गठबन्धनको बलमा श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा कांग्रेस नेता पौडेलले २७ हजार ६९० मत ल्याएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन अहिले छैन। रामचन्द्र पौडेल अहिले सत्ता गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका छन् जसका कारण उनलाई केही सहज देखिएको छ ।

यसैबीच, भर्खरै वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअनुसार पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेस पहिलो शक्ति हो । त्यसपश्चात् एमाले र तेस्रो शक्ति माओवादी हो । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका वडा नम्बर ५ र ६ बाहेक भानु नगरपालिका, देबघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार वडागत मतलाई जोड्दा व्यास नगरपालिकामा कांग्रेसले ११ हजार २ सय ५२ मत पाउँदा एमालेले ६ हजार १२३ मत ल्याएको यियो । यस्तै भानु नगरपालिकामा कांग्रेसले ११ हजार २४२ मत प्राप्त गर्दा एमालेले ७ हजार ७०६ मत ल्याएको छ ।

आँबुखैरेनी गाउँपालिकामा माओवादीले ३ हजार २५ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ८४८ र एमालेले १ हजार ६४६ मत ल्याएको छ । देवघाट गाउँपालिकामा कांग्रेसले ४ हजार १६९ प्राप्त गर्दा एमालेले ३ हजार ३२० मत पाएको छ । बन्दीपुरमा भने एमाले पहिलो दल हो । यहाँ एमालेले ३ हजार ४१५ मत, माओवादीले २ हजार ९६८ तथा कांग्रेसले २ हजार ८६९ मत स्थानीय तह निर्वाचनमा वडातहबाट मत पाएको छ ।

पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा तहबाट ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ । यस्तै एमालेले २२ हजार २१० तथा माओवादीले ८ हजार ४४४ मत पाएको छ । राप्रपासहित अन्य दलले २ हजार १२२, नेकपा (एस)ले ८९२ मत पाएको छ । जसपाले ५४ र स्वतन्त्रले ३ हजार ९९२ मत पाएको छ । पौडेलले गठबन्धनको सहयोगमा ४१ हजार ७७० मत ल्याउने देखिन्छ ।

तर यो निर्वाचन क्षेत्रमा विगतमा चुनाव जितेका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको छ । विगतमा चुनाव हार्दा वाम गठबन्धन नभएर जोशीलाई नै कारण देखाएका थिए । अहिले उनी कांग्रेसमा नहुँदा विगतमा जस्तो प्रभाव राख्न सक्छन् या सक्दैन त्यो उनको परीक्षा हो । तर जोशीले चुनाव लड्ने घोषणा गरिसकेका छन् । जोशीले प्रभाव कायम राखे भने रामचन्द्र पौडेलका लागि चुनौती भने देखिन्छ ।

तनहुँ जिल्लाले पाएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली नेता हुन रामचन्द्र पौडेल । मन्त्री, उपप्रधानमन्त्री, प्रतिनिधिसभाको सभामुख, नेपाली कांग्रेसका उपसभापति, कार्यबाहक सभापति भइसकेका पौडेलको राष्ट्रिय राजनीतिमा पनि बोली बिक्छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त झन उनै पौडेलको अगुवाईमा मुलुकको राजनीति हिँडिरहेको छ भन्दा फरक नपर्ला । उनै पौडेल एकपटक मुलुकको प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसो त उनी कांग्रेसको सभापति पनि बन्न चाहन्थे । तर आफ्नै गुटभित्रको झगडा मिलाउन नसक्दा १४ औँ महाधिवेशनको मैदान नै छोड्नुपरेको थियो । सम्भवतः अन्तिम पटक उनी प्रधानमन्त्रीका लागि प्रयासरत छन्, र त्यसैका लागि लामो समय सभापति शेरबहादुर देउवाका लागि प्रतिपक्ष बनेका उनी अहिले उनै देउवा गुटमा छन् । प्रधानमन्त्री नपाए पनि राष्ट्रपति बनेर राजनीतिक जीवन अन्त्य गर्ने पौडेलको चाहना छ । त्यसैका लागि उनी यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाब लडेर जित्न चाहन्छन् ।

तर रामचन्द्र पौडेलका लागि सबैभन्दा ठूलो तगारो हुन् गोविन्दराज जोशी । विभिन्न कारणले आफ्नो राजनीति सकाएर बसेका जोशी अब पौडेलको राजनीति सिध्याउन चाहन्छन् । कुनै बेला कांग्रेसको प्रभावशाली नेता, अझ रामचन्द्र पौडेलभन्दा धेरै प्रभाव भएका जोशी, भ्रष्टाचारको मुद्धा लागेपछि ओरालो लागे । आरोपित अवस्थामै २०६४ सालको संविधानसभा निर्वाचन लडेका जोशी पराजित भए । त्यसपछि उनी माथि उठ्न सकेका छैनन् । तर पौडेलको खुट्टा तान्ने राजनीति जारी राखेका छन् ।

२०७४ को चुनाबमा पौडेलविरुद्ध बागी उम्मेदवारी दिए पनि भ्रष्टाचारको मुद्धा विचाराधिन रहेको अवस्थामा उम्मेदवार बन्न नपाउने भन्दै पौडेलले नै उजुरी गरेपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । पछि जोशीलाई कांग्रेसले पार्टीबाटै निष्कासन गर्यो ।