
विमला दुवाडी………………………………………………………………………………..
महर्षि वेदव्यासको तपाोभूमि एवं सुन्दर पर्यटकीय नगर दमौलीलाई व्यवस्थित सहरको रुपमा विकास गर्नका विभिन्न पूर्वाधारहरु निर्माण गरिएका छन् भने अन्य पूर्वाधारहरुको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । देशमा संघीयता र स्थानीय सरकारको अवधारणा आइसकेपछि जनप्रतिनिधीहरुको सक्रियता स्वरुप व्यास नगरपालिका लगायतका केही स्थानीय निकायमा आमूल परिवर्तन देखिन थालेको छ ।
देशका अन्य सहरका तुलनामा विकासका भौतिक पूर्वाधार न्यून भएका कारण ओझेलमा परेको दमौली बजारलाई व्यवस्थित सहरको रुपमा विकास गर्न स्थानीय सरकार कस्सिएको छ । व्यास नगरपालिका कार्यालयको योजना अनुसारनै दमौली बजारलाई नेपालकै नमूना सहर बनाउने अभियान चलाइएको छ । जसअन्तर्गत दमौलीमा विकास निर्माणका गतिविधी र पूर्वाधार निर्माणको कार्यलाई तिव्र रुपमा अगाडि बढाइएको छ । २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात चुनिएर आएका जनप्रतिनिधीहरुको अग्रसरता र कर्मचारीहरुको लगावका कारण दमौली बजार र व्यास नगरपालिकाका अन्य वडाहरुमा विकास निर्माणका कार्यले गति लिएको छ । अहिले स्थानीय निकायको दोस्रो कार्यकाल शुरु भएको छ । यस अवधिमा दमौलीमा विशेष गरेर सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विधुत, संचार, धार्मिक र सामाजिक क्षेत्रमा बृहत्तर कार्य र गतिविधीहरु सञ्चालन भएका छन् ।
दमौलीमा अहिले बसपार्क, नेपालकै सबैभन्दा लामो चौतारी, लगायत विभिन्न वडाहरुमा सडक, खानेपानीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने आधुनिक र आकर्षक सभागृह, पर्यटन पार्क, खेलकुद मैदान, १०८ फीट उचाईको व्यासमूर्ति साथै अन्य बृहत्तर योजनाहरुको निर्माण कार्यलाई गति दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । योजनाअनुसार विकास निमाणको कार्य र अन्य संरचना बनिसकेपछि व्यास नगरपालिका व्यवस्थित र सुसज्जित बन्नेमा दुइमत नरहेको न्यौपानेको दावी छ ।

दमौली स्थित कराङकाठमा व्यवस्थित बाटो र जमिन उठाएर निर्माण गरिएको बसपार्क गत वर्षनै सञ्चालनमा आएको छ। दमौली तथा आसपासका भागबाट पृथ्वी राजमार्गमा सोझै जोड्ने गरी बसपार्कको संरचना तयार गरिएको छ । यसका साथै नगरपालिकाकै पहलमा पृथ्वी राजमार्गको दमौली बजार खण्डमा दायाँ र बाँया अस्थायी पार्किङको व्यवस्था गरिएपछि राजमार्गमा सवारी आवागमन सहज भएको छ भने सडक जामको अवस्था हटेको छ । त्यसैगरि, व्यास ३ मा सात सय ५० जना क्षमताको जिल्ला सभागृह अनुमानित ३३ करोडको लागतमा निर्माण भइरहेको छ । दुई तल्ले अपांगतामैत्री सिटी हल परिसरमा आधुनिक पार्किङ संरचना हुनेछन् ।
दमौलीको केन्द्र भागमा रहेको अनसन चौतारीलाई मर्मत सम्भार गरेर निकै आकर्षक बनाइएको छ । नेपालकै सबैभन्दा लामो चौतारीको रुपमा व्यवस्थित तरिकाले निर्माण गरिएको सो चौतारी र वरपरको क्षेत्रलाई प्रविधीमैत्री (वाइफाई जोन) बनाइएको छ । त्यसैगरि व्यास ५ पाटनस्थित महर्षि वेदव्यासका पिता महर्षि पराशरले तपस्या गरेको पराशर गुफा तथा आसपासका सार्वजनिक जमिनको उपयोग गरी व्यवस्थित ‘व्यास–पराशर पार्क’ को निर्माण कार्य पनि बढाइएको छ तथापी नदीको कटानको कारण सो क्षेत्र जोखिममा परेको छ । व्यास तथा पराशरको भूमिमा पर्यटकीय हिसाबले समेत सो पार्कको विशेष महत्व रहने छ ।

साथै दमौलीमा रहेको खुला चौरलाई आकर्षक कम्पाउण्ड र तारबार सहित व्यवस्थित बनाइएको छ । सोही स्थानमा बास्केटबल कोर्ट पनि निर्माण गरिएको छ । त्यसैगरि दक्षिणी भेगमा रहेको विपी बनवाटिकाको खुला चौरलाई पनि व्यवस्थित रंगशाला निर्माण बनाउने योजनासंगै निर्माणको कार्यलाई गति दिइएको छ । विभिन्न मेला महोत्सव आयोजना हुने सो स्थललाई समथर बनाएर पक्की कम्पाउण्ड लगाउने कार्यहरु सम्पन्न भएको छ ।

त्यसैगरि व्यास १ मा रहेको नेपालकै नमूना सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि पनि नगरपालिका कार्यालयले सहयोग गर्दै आइरहेको छ । नगरपालिकाको सहयोगमा दमौली अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा र प्रवाहमा स्तरोन्नतिका कार्यहरु गरिएको छ । सडक निर्माणको कार्यमा विशेष चासो दिदैं आएको नगरपालिका कार्यालयले प्रसिद्ध धार्मिक स्थल छाव्दी बाराही सम्मको कच्ची बाटोलाई कालोपत्रे गरेको छ । मादी नदिमा कृतिम ताल बनाउने र अन्य पूर्वाधार निर्माण गरिने योजना पनि नेपाल सरकारको रातो कितावमा समाबेश भएर प्रारम्भिक कार्यहरु अगाडि बढाइने भएको छ । वेदव्यासको १०८ फीट उचाईको विश्वकै अग्लो मूर्ति सँगै पञ्च मन्दिर क्षेत्रमा निर्माण गरिने बृहत्तर योजना निर्माणका लागि व्यास नगरपालिका कार्यालयले ५० लाख रुपैया सहयोग गरेको छ भने थप आर्थिक सहयोग संकलनका लागि श्रीमद् भागवत् महायज्ञ आयोजना गरिएको छ ।
यसका साथै व्यास र पराशर क्षेत्रलाई जोड्ने व्यास झुलाको निर्माण गरिएको छ जसले गर्दा त्यस क्षेत्रको पर्यटकीय चहलपहल र अन्य गतिविधीमा बृद्धि भएको छ । यसका साथै दमौली स्थित पृथ्वी राजमार्गबाट सिमलटार जोड्ने पक्की पुलको निर्माण कार्य पनि नगरपालिकाको विशेष पहलमा सम्पन्न भएको छ ।
त्यसैगरि व्यास ५ स्थित पर्यटकीय स्थल मानहुँकोटको सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि पनि नगरपालिकाले विशेष पहलकदमी चालेको छ । मानहुँसम्म पक्कीबाटो पुर्याउने योजना अन्र्तगत पचास प्रतिशत कार्य सम्पन्न भएको छ भने दृश्यावलोकनका लागि रेलिङ निर्माण सम्पन्न भएको र भ्यू टावरका लागि कार्य अगाडि बढाइएको छ ।

विकास निर्माणका गतिविधीलाई विशेष प्राथमिकता राखेर अगाडि बढेको नगरपालिकाले यस क्षेत्रको सरसफाई, खानेपानी, विधुत, सञ्चारका साथै यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र स्थलहरुको संरक्षण साथै मौलिक कला, संस्कृति, चाडपर्व, रहनसहनको जगेर्ना गर्ने कार्यमा आफुहरु अग्रसर रहेको नगरप्रमुख न्यौपानेले बताए । त्यसैगरि निर्माणाधिन १४० मेगावाट क्षमताको तनहुँ जलविधुत आयोजनाले पनि दमौलीका साथै सिंगो तनहुँबासीलाई निकै फाइदा पुग्ने छ । प्रारम्भिक चरणका कार्य पश्चात दोस्रो चरणको प्रक्रियामा रहेको सो जलविधुत आयोजना राष्ट्रिय गौरवको आयोजना भएकोले जिल्लाको सामाजिक, आर्थिक, र पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।




