हिन्दुहरुको महान चाड विजया दशमी अर्थात दशैं सोमबारदेखि शुरु भएको छ । दशैं शुरु भएसंगै तनहुँका बजारमा चहलपहल रौनकता छाएको छ ।

गत २ वर्ष कोरोना संक्रमणको त्रासका कारण विभिन्न धार्मिक स्थल र मठमन्दिरहरुमा पूजापाठका लागि सरकार र स्थानीय प्रशासनले बन्देज लगाए पनि यसवर्ष भने पूर्ण रुपमा मठ मन्दिरहरु खुल्ला गएिको छ ।

यसैबीच,कोरोना भाईरसको संक्रमणको जोखिम नभएपनि फेरि डेंगुको संक्रमणले त्राहीमाम बनाएको छ । तथापी रोगव्याधीको भय र त्रासकै साथमा यसबर्ष पनि दशै मनाउनु पर्ने भएको छ । दशैं भित्रिएसंगै तनहुँको सदरमुकाम दमौली बजार लगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख व्यापारिक केन्द्रमा दशैको किनमेलका लागि मानिसहरुको चहलपहल विस्तारै बढेको छ । दमौली लगायत जिल्लाका प्रमुख बजार क्षेत्रहरु आँबुखैरेनी, डुम्रे, बन्दीपुर, थर्पु, खैरेनीटार, दुलेगौंडा, भिमाद, कोत्रे लगायतका क्षेत्रहरुमा मानिसहरुको भिड देख्न सकिन्छ । बजार र व्यापार–व्यवसाय खुला गरिएपनि कोरोना भाइरस र डेंगुको संक्रमणको त्रासभने यथावत नै रहेको छ ।

विशेषतः व्यापार, व्यवसाय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक यातायातका क्षेत्रमा मानिसहरुको चहलपहल र भीड बढेको छ । त्यसैगरि दमौलीको प्रशासन कार्यालय अगाडि दशैंका लागि खशीबोका किन्नेहरुको भीड पनि बढेको छ ।

साथै होटल तथा रेष्टुँरा, लत्ताकपडा, खाद्धान्न, फलफूल, तरकारी, स्टेशनरी, हार्डवेयर, निर्माण सेवा लगायतका व्यापार व्यवसायमा समेत चहलपहल बढेको छ । यसैगरि, राजमार्गमा पनि सवारी साधनमा यात्रुहरुको चाप चहलपहलमा बृद्धि भएको छ ।

दशैं लगायत नेपालीका मुख्य चाडपर्वहरु भित्रिएसंगै कोरोना भाइरस संक्रमणको जोखिम कम भएका कारण यसवर्षका चाडवाडहरुमा रौनकता बढेको हो । व्यवसायीहरुले यसवर्षको दशैं र तिहारमा विगतमा जस्तो व्यापार नभएपनि केही राहत महसुस गरेको बताउँछन् ।

नेपाल सरकारले बालबालिकादेखि जेष्ठ नागरिकका साथै सबै पेशाकर्मीहरुलाई विभिन्न चरणमा कोरोना विरुद्धको खोप दिएसंगै यस वर्षको दशैंमा चहलपहल बढेको छ र मानिसहरु पनि सुरक्षित महसुस गरेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, तनहुँले कोरोनाको जोखिम र डे्रंगुको संक्रमण कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि व्यापार व्यवसाय सञ्चालन गर्न साथै सुरक्षित तरिकाले चाडबाड मनाउन र हिँडडुल गर्न पनि अनुरोध गरेको छ ।