
सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । दलहरू यतिबेला चुनाव जित्ने रणनीतिक दौडमा छन् । दलका कतिपय नेताहरू भने टिकट प्राप्त गर्ने दौडधुपमा लागिसकेका छन् ।
यसैबीच, तनहुँको क्षेत्र नं १ मा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रत्यक्ष निर्वाचनमा उत्रने चर्चा चलेको छ भने उनका सदावहार प्रतिष्पर्धी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । तनहुँ क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई जोडेर मतदाताको तथ्यांक विश्लेषण गरिएको छ । मतदाताको संख्या विश्लेषण गर्दा नेता पौडेललाई हाइसञ्चो तर नेता जोशीको वास्तविक परीक्षा आएजस्तो देखिएको छ ।

गएको स्थानीय तह निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव हारेका थिए । उनी एमाले नेता कृष्ण कुमार (किसान) श्रेष्ठसँग चुनाव हारेका थिए ।
वाम गठबन्धनको बलमा श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा कांग्रेस नेता पौडेलले २७ हजार ६९० मत ल्याएका थिए ।
तर, अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन अहिले छैन । रामचन्द्र पौडेल चुनाव लडे सत्ता गठबन्धनको सहयोगमा चुनाव लड्ने निश्चित छ ।
तर उक्त निर्वाचन क्षेत्रबाट विजय भएका श्रेष्ठ नेकपा एसमा सक्रिय छन् । मन्त्री पनि भइसकेका सिट बाँडफाँडमा उनले उक्त निर्वाचन क्षेत्र नछाडे समस्या पर्ने देखिन्छ । तर उनले निर्वाचन क्षेत्र कांग्रेसका लागि छाडिदिए भने पौडेललाई सहज देखिन्छ ।
गएको स्थानीय तह निर्वाचनअनुसार पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेस पहिलो शक्ति हो ।
त्यसपश्चात् एमाले र तेस्रो शक्ति माओवादी हो । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका वडा नम्बर ५ र ६ बाहेक भानु नगरपालिका, देबघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार वडागत मतलाई जोड्दा व्यास नगरपालिकामा कांग्रेसले ११ हजार २५२ मत पाएको छ।
जबकी एमालेले ६ हजार १२३ मत ल्याएको छ । यस्तै भानु नगरपालिकामा कांग्रेसले ११ हजार २४२ मत प्राप्त गर्दा एमालेले ७ हजार ७०६ मत ल्याएको छ ।
आँबुखैरेनी गाउँपालिकामा माओवादीले ३ हजार २५ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ८४८ र एमालेले १ हजार ६४६ मत ल्याएको छ ।
देवघाट गाउँपालिकामा कांग्रेसले ४ हजार १६९ प्राप्त गर्दा एमालेले ३ हजार ३२० मत पाएको छ ।
बन्दीपुरमा भने एमाले पहिलो दल हो । यहाँ एमालेले ३ हजार ४१५ मत, माओवादीले २ हजार ९६८ तथा कांग्रेसले २ हजार ८६९ मत स्थानीय तह निर्वाचनमा वडातहबाट मत पाएको छ ।
पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा तहबाट ३२ हजार ३८० मत प्राप्त गरेको छ ।
यस्तै एमालेले २२ हजार २१० तथा माओवादीले ८ हजार ४४४ मत पाएको छ । राप्रपासहित अन्य दलले २ हजार १२२, नेकपा(एस)ले ८९२ मत पाएको छ ।
जसपाले ५४ र स्वतन्त्रले ३ हजार ९९२ मत पाएको छ । पौडेलले टिकट पाए गठबन्धनको सहयोगमा ४१ हजार ७७० मत ल्याउने देखिन्छ ।
तर यो निर्वाचन क्षेत्रमा विगतमा चुनाव जितेका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको छ ।
विगतमा चुनाव हार्दा वाम गठबन्धन नभएर जोशीलाई नै कारण देखाएका थिए ।
अहिले उनी कांग्रेसमा नहुँदा विगतमा जस्तो प्रभाव राख्न सक्छन् या सक्दैन त्यो उनको परीक्षा हो । तर जोशीले चुनाव लड्ने घोषणा गरिसकेका छन् । जोशीले प्रभाव कायम राखे भने रामचन्द्र पौडेलका लागि चुनौती भने देखिन्छ ।
बाह्रखरीको सहयोगमा




