नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच राजनीतिक दलको गठबन्धनको पक्षमा खुलेरै प्रशंशा र वकालत गरेका छन् ।

नेपाली काँग्रेस तनहुँद्धारा सदरमुकाम दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए । देउवाले गठबन्धनको विरुद्धमा रहेका तत्वहरुलाई स्थानीय तहको मैदानबाटै जवाफ दिनुपर्ने बताउँदै गठबन्धन सफल बनाएरै छाड्ने अडान लिए ।

‘स्थानीय तह होइन स्थानीय सरकार हो, यहाँ मात्रै होइन प्रदेश र केन्द्र पनि छ । प्रधानमन्त्री देउवाले भने ‘त्यसैले गठबन्धन सफल पारेरै छोड्नुपर्ने राष्ट्रिय आवश्यकता हो ।’ साथै उनले गठबन्धन असफल पार्न स्वदेशी, विदेशी तत्वहरु लागिपरेको बताउँदै यसलाई सफल पार्ने नेपाली कांग्रेसको एउटा मात्रै उद्देश्य रहेको पनि ठोकुवा गरे । साथै देउवाले तनहुँ जिल्ला पौडेलको जिल्ला भएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

 नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै देउवाले ओलीलाई तानाशाही चरित्रको मानिस भएको आरोप लगाए ।
यसैगरि, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन देशका लागि अपरिहार्य भएको बताएका छन् । कतिपयले हावा कुरा गरेर गठबन्धनको विरोध गरेको प्रसंग जोड्दै नेता पौडेलले देशमा लोकतान्त्रिक शासन पद्धतिको रक्षा, संसदीय प्रणालीको निरन्तरता, राजनीतिक स्थिरता र तानाशाही प्रवृतिको अन्त्यका लागि गठबन्धन गर्नु परेको बताए । पौडेलले पनि एमाले अध्यक्ष ओलीलाई राजनीतिक अस्थिरताको पर्याय र सर्वसत्तावादी भएको आरोप लगाए । त्यही अस्थिरतालाई रोक्नका लागि गठबन्धन बनेको बताउँदै नेता पौडेलले गठबन्धनको अभियान तनहुँकै बुल्दी पुलबाट आफूले शुरु गरेको बताए । निकै भावुक शैलीमा प्रस्तुत भएका नेता पौडेलले भने – म पार्टी सभापति देउवाको लाइनमा गएको होइन्, उहाँ (देउवा) मेरो लाइनमा आएको हो । पौडेलले सो कुरा व्यक्त गरिरहँदा सभापति देउवा मुसुमुसु हाँस्दै बसिरहेका देखिन्थे । पौडेलले तनहुँका १० वटै पालिकाहरुमा काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जिल्लाको विकास गर्न पनि मतदाताहरुलाई आग्रह गरेका थिए ।

जिल्ला सभापति जित प्रकाश आलेको सभापतित्वमा भएको सो चुनावी सभामा कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, ध्रुव वाग्ले, गण्डकी प्रदेशका मन्त्री डोवाटे विक, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभासद् सरिता गुरुङ, व्यास नगरका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपाने, काँग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल लगायतका वक्ताहरुले स्थानीय निकायको निर्वाचनमा तनहुँका १० वटै पालिकाहरुमा काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई बहुमतले विजयी गराउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकोप्टर चढेर चुनावी सभालाई सम्बोधन गर्न दमौली आएका थिए । निर्वाचन आचार संहिताको ख्याल गर्दै प्रधानमन्त्री देउवाले निजी सवारी साधन प्रयोग गरेका थिए ।

सभा अगाडि व्यास नगरका १४ वटै वडाहरुबाट आएका काँग्रेसका नेता तथा कार्यकर्ताहरुको विशाल र्यालीले नाँचगान, तुल व्यानर र पार्टीको झण्डा र चुनाव चिन्ह सहित दमौली बजारको परिक्रमा गरेको थियो । सो सभामा करिव ५ हजार जनाको उपस्थिति रहेको अनुमान गरिएको छ ।