तनहुँको सदरमुकाम दमौलीको मेनचोकमा फागुन २२ गते भएको आगलागीबाट करीब १३ करोडको क्षति भएको छ । स्थलगत निरीक्षण र पीडितहरुसँग मागिएको विवरण अनुसार १२ करोड ८० लाख मूल्य बराबरको क्षति पाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

प्रारम्भिक क्षति सङ्कलनको क्रममा मूल्याङ्कन कम भयो भन्ने गुनासो आएकाले पुर्नमूल्याङ्कनको काम भईरहेको उनले जानकारी दिए । घरमा भाडामा बस्नेहरुले पनि नोक्सान भयो भनेर निवेदन दिन आएकोले क्षतिको विवरण सार्वजानिक गर्न ढिला भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । गुरुङका अनुसार ६ वटा टहरा र नौ वटा आरसीसी घरको गरी संरचनागत तर्फ ९३ लाख ४३ हजार ६५० नोक्सान भएको छ । कोठामा भाडा बसेका समेतका गरी २९ जनाले क्षति भएको भनि निवेदन दिएका छन् ।

आगलागीबाट सबै भन्दा धेरै भूपाल आलेको क्षति भएको छ । भुपालको सात करोड, पवित्रा राना आलेको रु २ करोड, ज्योतिकुमार श्रेष्ठको रु २ करोड ५० लाख नोक्सान भएको छ । क्षतिको विवरण सङ्कलनको लागि प्रशासन, उद्योग वाणिज्य सङ्घ र नगरपालिकाको प्रतिनिधिहरुको बैठकले व्यास नगरपालिकाका इन्जिनियर अमृत के.सी.को संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रतिनिधि प्रहरी निरिक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ बजार इकाई प्रतिनिधि माधव न्यौपाने छन् । भुपाल हार्डवयरबाट सुरु भएको आगो फैलिएर एक दर्जन घर तथा टहरामा फैलिएको थियो । दमकलले मात्रै आगो नियन्त्रणमा नआएपछि पानी बोक्ने हेलिकप्टरको प्रयोग गरी आगो निभ्भाईएको थियो । आगलागी भएको पाँच घण्टा पछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

२५ लाखको समान चोरी

यसैबीच, सो आगलागीको घटनामा २५ लाखको समान चोरी भएको बताइएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा उक्त रकम बराबराको समान हराएको भएको पाईएको प्रहरीले जानकारी दिए । आगोबाट समान जोगाउने क्रममा समान चोरी भएको हो । समानको तथ्याङ्क निकाल्ने क्रममा सो मूल्य बराबरको समान फेला पार्न नसकिएको प्रहरीको भनाई छ।