
अफवाह फैलाउने टिकटक र यूट्युवलाई कारवाही गरिने भएको छ । सामाजिक सञ्जाल मार्फत पिडितको गोपनीयताको हनन् नगर्न प्रहरीले आग्रह गरेको छ।
पछिल्लो केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यले राखिएका भनाइहरु कानुन विपरित भएको प्रहरीले जनाएको छ।
हाल चर्चामा रहेको पल शाह प्रकरणमा पीडित किशोरीको परिचय सार्वजनिक भइरहेको, पीडित र पीडक भनिएका अभियुक्तको चरित्र हत्या हुने किसिमका भ्रामक सामग्रीहरु सामाजिक सञ्जालमा भाइरल भइरहको अवस्थामा प्रहरीले यो विज्ञप्ति निकालेको हो।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयता हक हनन् गर्ने जस्ता कार्य विद्युतीय कारोवार ऐन विपरीत रहेको बताएको छ।
पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृति देखिएमा विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै ब्यूरोले यस्ता गतिविधि नगर्न समेत आग्रह गरेको छ।




