नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको ७३ औं जन्मदिन मनाइएको छ ।

शाखाको आयोजनामा वरिष्ठ पत्रकार भण्डारीको जन्मदिन भिमाद स्थित उनकै निवासमा मनाइएको थियो । सो अवसरमा महासंघ केन्द्रीय सदस्य प्रदिप काफ्ले, तनहुँ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बर बहादुर अधिकारी, तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल, सल्लाहकार गोरा मियाँ, सचिव प्रताप राना लगायतले वरिष्ठ पत्रकार भण्डारीको सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गरेका थिए ।

वि.स. २०३९ साल चैत्र २५ गते पत्रकार भण्डारीले भञ्ज्याङ साप्ताहिक पत्रिकाको प्रकाशन आरम्भ गरेर तनहुँ, कास्की लगायतका जिल्लामा सूचना र समाचारको सम्प्रेषण गरेका थिए । भण्डारीले पञ्चायती शासन व्यवस्थाको कडा सेन्सरसिप र बन्देजका बाबजुद पत्रिकाको सम्पादक भएर नागरिकलाई सूचना र समाचारको प्रत्याभूति गराएका थिए । निम्न माध्यमिक तहको स्थायी शिक्षक जागिर छाडेर पत्रकारिता मार्फत जनतालाई सूसूचित गर्न कस्सिएका भण्डारी पटक पटक जेल परेका थिए ।

६८ बर्षको उमेरसम्म पनि तनहुँ जिल्लामा रहेर सक्रिय पत्रकारिता मार्फत जनतालाई सूसूचित गर्न अहोरात्र खटिएका वरिष्ठ पत्रकार भण्डारी जिल्लामा हुने जुनकुनै कार्यक्रमको रिपोटिंङमा प्रत्यक्ष खटिने गर्दथे । आजकल भण्डारीले स्वास्थ्य अवस्थाका कारण सक्रिय पत्रकारिताबाट केही विश्राम लिएका छन् ।

भण्डारीले नेपाल सरकारद्धारा प्रदान गरिने गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् भने नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको छ ।

पत्रकारिता क्षेत्रमा नै करिव चार दशक समय विताएका पत्रकार भण्डारीले पत्रकारिता मार्फत देश र जनताको लागि गरेको अथक सेवा उदाहरणीय छ ।

७३ औं जन्मदिनको अवसरमा वरिष्ठ पत्रकार भण्डारीको सुस्वास्थ्य र दीर्घजीवनको लागि व्यासश्री डटकमको तर्फबाट हार्दिक शुभकामना ।