व्यास नगरपालिकाको ३६औं नगर सभा शुक्रबार नगर सभाहलमा सम्पन्न भएको छ ।

नगरसभाबाट १ अरब ७७ करोड ८९ लाख १२ हजार रुपैंयाको संशोधित बजेट तथा कार्यक्रम संशोधन सहित पारित भएको छ । उपप्रमुख मिरा जोशीले आ.व २०७८/०७९ का लागि ३५ औं नगर सभाबाट पारित वजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उक्त सभाले चार बिधेयक र तीन संशोधन ऐन पारित गरेको छ । स्थानीय बजार व्यवस्थापन विधेयक, २०७८ व्यास नगरपालिका सुशासन विधेयक, २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक, २०७८ पारित गरेको हो । त्यसैगरी,आर्थिक ऐन, २०७८ संशोधन, विनियोजन ऐन, २०७८ संशोधन, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ संशोधन गरेको छ । आ.व २०७८÷०७९ को लागि ३५ औं नगर सभाबाट पारित नीति कार्यक्रम र नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

चालू आवका लागि ३५ औं नगरसभाबाट खर्च तर्फ कुल रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजार विनियोजिना गरिएकामा सो मध्ये चालु खर्च तर्फ रु एक अर्ब दुई करोड ९४ लाख १२ हजार अनुमान गरिएकोमा पुस मसान्त सम्ममा रु ३४ करोड ३९ लाख ९८ हजार यथार्थ खर्च हुन आएको जोशीले बताइन् । यसैगरी पूँजीगत खर्च तर्फ रु ७४ करोड ९५ लाख विनियोजन गरिएकोमा पुस मसान्त सम्ममा रु १३ करोड ३६ लाख २१ हजार खर्च हुन आएको छ । उपप्रमुख जोशीका अनुसार यसरी पुस मसान्त सम्ममा चालु तथा पूँजीगत खर्च समेत गरी कुल जम्मा रु ४७ करोड ७६ लाख २० हजार यथार्थ खर्च हुन आएको छ । साउन देखि माघ २० गते सम्म प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई मध्यनजर गर्दा गर्दा चालू खर्चतर्फ विभिन्न शिर्षकहरुमा साविकको व्यय अनुमानमा रु ४१ लाख ९४ हजार थप गर्ने गरी कुल चालु खर्च रु एक अर्ब ३ करोड ३६ लाख ६ हजार संशोधित अनुमान कायम गरिएको छ भने पूँजीगत खर्च तर्फ विभिन्न कार्यक्रमहरुमा खर्च हुने गरी साविकको व्याय अनुमानमा रु ४१ लाख ९४ हजार घटाई कुल व्याय अनुमान रु ७४ करोड ५३ लाख छ हजारको शंसोधित अनुमान कायम गरिएको छ । यसरी चालु तथा पूँजीगत खर्च शिर्षकको खर्च समेत गरी कुल रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको शंसोधित विनियोजन कायम हुने गरी व्यय अनुमान गरिएको छ ।

नगर सभाको समापनमा नगर सभासद् बसुन्धरा घर्ति, विश्वराज न्यौपाने, सुर्यभक्त भण्डारी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, उप–प्रमुख मीरा जोशी लगायतका वक्ताहरुले समिक्षात्मक मन्तव्य व्यक्त गरेका थिए ।

सभाले ५ वर्षे कार्यकालमा सहयोग पुर्याउने संघीय सरकार, प्रदेश सरकार, जिल्ला स्थित स्थानीय तह, सम्पुर्ण राजनितिक दल, वर्तमान एवं पुर्व जनप्रतिनिधी, जिल्ला स्थित सरकारी कार्यालय, संघ संस्था, व्यवसायी, पत्रकार र आम नगरबासीमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । सो नगरसभा नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको थियो । सभामा नगरका १४ वटै वडाबाट वडाअध्यक्ष लगायत सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।