व्यास नगरपालिकाको नियमित वैठकले विभिन्न महत्वाकाँक्षी योजना प्रस्ताव र निर्णयहरु गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त वैठकले व्यास नगरपालिका कार्यालय अन्तरगतको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक खरिद योजना अनुमोदन गर्ने, अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं पर्यटन प्रबर्धनका निम्ति विभिन्न देशको प्रतिनिधित्व एवं पहिचान खुल्ने गरी प्रतिकात्मक संरचना निर्माण गर्न व्यास नगरपालिका वडा नं.१० स्थित रहेको शिशुवा भतेरीमा करिब १००० रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराई डिप्लोम्याटिक गार्डेनका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरि कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

मानहुँकोट पर्यटन प्रबर्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रा.लि. बाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्झौताको आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त बैठकले व्यास नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँ, भेटेरिनरी अस्पताल तनहुँ, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल विउ व्यवसायी संघ जिल्ला समितिसँग सहकार्य गरी दमौलीमा कृषि, पशुपंक्षी उपज प्रर्दशनी मेला सञ्चालन गर्ने र उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।