
नेपाली काँग्रेस तनहुँको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ ।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर विपी भवनमा आयोजित कार्यक्रमको उद्घाटन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै नेता पौडेलले विपीको मेलमिलापको नीतिलाई अंगिकार गर्दैै काँग्रेस पार्टी अघि बढ्नु पर्ने बताउँदै पार्टीमा देखिएका सबै खाले गुटबन्दी अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
साथै उनले १४ औं महाधिवेशनमा आफूले राष्ट्रिय एकताको सन्देश दिनका लागि चुनावी मैदानमा नउत्रिएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्यत्रय शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्लेले महाधिवेशन पश्चात पार्टीमा भएका मतमतान्तर अन्त्य गर्दै तीनै तहको निर्वाचनको तयारीका लागि सम्पूर्ण नेता र कार्यकर्ताहरु एकजुट भएर जान आग्रह गरेका थिए ।
पदस्थापन कार्यक्रममा पार्टीका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले नव निर्वाचित सभापति जित प्रकाश आलेलाई पदभार हस्तान्तरण गरेका थिए भने अन्य पदहरुको पनि हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा पार्टीको जिल्ला तह, प्रदेश तह, क्षेत्रीय तह र स्थानीय तहका विभिन्न पदमा विजयी भएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । कार्यक्रममा अन्य नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




