
पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवम् विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रूचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।
साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन भर्खरै सञ्चालनमा आएको छ । जिपलाइनमा विश्वमै ख्याति प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’ सँग आबद्ध हाइग्राउन्ड एडभेन्चर प्रालिले सुरुवात गरेको हो । भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिङ अफिसर) दिनेश महर्जनले जानकारी दिए ।
उनका अनुसार सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुवात गरेको हाइग्राउन्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो । सुपरम्यान जिपलाइन सुतेर गरिन्छ ।
‘समुद्री सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर दुरी छ’, उनले भने, ‘यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्य नभएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिएका छौँ ।’
विश्वकै लामोमध्येको एक हजार आठ सय ५० मिटर दुरीको सुपरम्यान जिपलाइन पार गर्न औसत एक सय ४० किमी प्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ । जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत झन्डै ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न पाउँछन् । ३५ देखि एक सय २० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन् । तथ्याङ्कअनुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबैभन्दा ज्येष्ठ नागरिकका रूपमा रहनुभएको सञ्चालन अधिकृत महर्जनले जानकारी दिए ।
‘जिपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महिना मर्मत गरिन्छ’, उनले भने, ‘हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण (सेफ्टी अडिट) गराउने गर्दछौँ ।’
जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको जनाउँदै उनले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको प्रविधि नेपालमा अरू कुनै जिपलाइनमा नभएको दाबी गरे ।
नेपालीका लागि ६ हजार पाँच सय र विदेशीका लागि आठ हजार पाँच सय रुपैयाँ कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन थप एक हजार पाँच सय रुपैयाँ राखिएको छ । अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउन्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो ।
जिपलाइनकै ग्राउन्ड स्टेशन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमुनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रूपमा रहेको यहाँ जोडीसँगै अङ्गालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ । जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा थप शुल्क नलाग्ने जानकारी दिँदै महर्जनले हेम्जामा छिट्टै विभिन्न साहसिक खेल थप्ने योजना रहेको बताए ।
नेपाल आउने युरोपेली, अस्ट्रेलियाली, कोरियन आदि देशका धेरैजसो विदेशी पर्यटक साहसिक पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए।
‘नेपालमा साहसिक पर्यटनका गतिविधि पर्वतारोहण, पदयात्रा, हाइकिङ, र्याफ्टिङ, कायकिङसँगै प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट आदिले पर्यटकलाई आकर्षित गरेका छन्’, उनले भने, ‘यी साहसिक पर्यटनका गतिविधिले पर्यटकलाई लोभ्यानुका साथै उनीहरूको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।’
पछिल्ला समयमा नेपालीमा पनि घुमफिर गर्ने संस्कृति बढ्दै गएको जनाउँदै उनले साहसिक पर्यटनमा पनि आन्तरिक पर्यटकको उत्तिकै आकर्षण बढ्दै गएको बताए ।




