
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको छ। बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो।
अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो।
अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। नेकपा ओलीपक्षीय केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईका अनुसार दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएपछि अब ओलीको मात्र हस्ताक्षर चल्नेछ। बैठकमा हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ।
बैठकमा मूलत: चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो। केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ।
यसअघि अध्यक्ष दाहाल-नेपाल पक्षको बैठकले पनि प्रधानमन्त्री ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याएको थियो।




