तनहुँको सदरमुकाम स्थित दमौली अस्पतालको स्तरोन्नति गरिएको छ । अस्पतालमा भेन्टिलेटर, आइसियु (सघन उपचार कक्ष) र थाइराइड परीक्षण लगायतका आधुनिक स्वास्थ्य सेवाको विस्तार गरिएको छ ।

सेवा विस्तारका गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई चार थान भेन्टिलेटर खरिदमा आर्थिक सहयोग प्रदान गरेको छ भने अस्पतालमा १० सैया क्षमताको ५ वटा कोठामा आइसियु कक्ष निर्माण गरिएको छ । भेन्टिलेटर खरिदका लागि २ करोड रुपैया उपलब्ध गराएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । जिल्लामै सघन उपचार कक्ष नभएको र गम्भीर स्वास्थ्य समस्या भएका विरामीलाई उपचारका लागि पोखरा, काठमाण्डौं, चितवन लैजानुपर्ने बाध्यता रहेकोमा हाल सो समस्याबाट जिल्लाबासीले मुक्ति पाउने भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेश सरकारले थाइराइड परीक्षणको लागि दश लाख रुपैया पर्ने उपकरण प्रदान गरेको छ । सबै समान र उपकरणहरु जडान भइसकेपछि अस्पतालले सेवा सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेल आफैं थाइराइड विशेषज्ञ पनि भएकाले उपकरण सञ्चालनका लागि ल्याबका प्राविधिकलाई तालिम दिइने र त्यसपछि सेवा सञ्चालन गर्न सहज हुने अध्यक्ष अधिकारीले बताए । त्यसैगरि, दमौली अस्पतालबाटै ब्लडको कल्चर सेवा सञ्चालन गर्न अस्पातालको व्यवस्थापन पक्ष लागेको बताइएको छ ।

जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुने भएपछि जिल्लाबासीले सहज र सस्तो शुल्कमा सेवा पाउने अस्पतालको विश्वास छ । त्यस्तै अस्पतालले अन्य आधुनिक स्वास्थ्य सेवाहरु पनि क्रमशः विस्तार गर्दै लैजाने बताइएको छ । यसैबीच, केही समयअघिमात्रै अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ भने अस्पताललाई सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधार थप र निर्माणका कामहरु अगाडि बढाइएको छ ।

गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो। बिना अक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख रुपैयाँ बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको हो ।

१५ सैयाको अस्पताललाई ५० सैयामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुइ सरकारी कार्यालयहरु कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालको स्वामित्वमा रहेका जग्गाहरु उपलब्ध गराइदिन अस्पताल व्यवस्थापन समितिले गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग अनुरोध पत्र पेश गरेको छ । अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० सैयाको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पतालको स्तरोन्नति गरेर विशेषज्ञसहितको सेवा दिन समिति लागि परेको आश्वासन दिए।

वि.सं. २०३४ सालमा स्वास्थ्यचौकी हुँदै २०५५ मा प्राथमिक स्वास्थ्यकेन्द्र र २०५९ सालदेखि अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल अहिले जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा परिचित छ । अस्पतालको स्तरोनति र प्रभावकारी स्वास्थ्यसेवाका लागि सबैको हातेमालो अपरिहार्य छ ।