
सर्वहारा र गरिवहरुको पार्टी भनिने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं तनहुँ क्षेत्र नं १ का संघीय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ धनीहरुको सूचीमा पनि अग्रपंक्तिमा पर्छन् ।
तनहुँ क्षेत्र नं १ बाट चुनाव जितेर राजनीतिक उचाइ ह्वात्तै उचालिएसंगै राज्यको नीति निर्माण तहमा पुगेका सांसद श्रेष्ठको आर्थिक हैसियत पनि यस अवधिमा ह्वात्तै बढेको छ । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा हामफालेका सांसद श्रेष्ठ सातामा एक पटक बाराको सिमरा पुग्ने गर्छन् । उनी शिलान्यास, उद्घाटन वा कुनै सार्वजनिक वा राजनीति भेटघाट कार्यक्रमको सिलसिलामा नभई व्यापारिक प्रयोजनका लागि त्यहाँ पुग्ने गरेका छन् ।
बाराको सिमरा विमानस्थल नजिकै सञ्चालनको अन्तिम तयारीमा रहेको तीनतारे होटलसँगै, क्लासिक म्याटिर्यस्, ग्यास उद्योग, कृषि, घर जग्गा कारोबारमा उनको अर्बाैं रुपैयाको लगानी रहेको छ । जसका कारण उनी तनहुँ र काठमाडौंबाट सिमरा पुगिरहन्छन् ।
केही बर्ष पहिला करौडको कारोबार गर्ने व्यवसायी श्रेष्ठ सांसद बनिसकेपछि भने अर्बौको मालिक बनेका छन् । सिमरालाई केन्द्रबिन्दुमा राखेर श्रेष्ठले २०७२ सालदेखि हालसम्म अर्बभन्दा बढी यस्तै विभिन्न क्षेत्रमा लगानी गरिसकेका छन् ।
‘समृद्ध नेपाल सुखी नेपाली बनाउने यात्रामा सिमरा केन्द्रबिन्दु हो र यस ठाउँको महत्वपूर्ण भूमिका भएकोले यसलाई मैले आफ्नो व्यापारिक थलो बनाएको छु’, श्रेष्ठले भने, ‘मेरो राजनीतिक थलो तनहुँ भए पनि व्यापारिक थलो सिमरा नै भएकाले यहाँ आउँछुु’ । नेपालको सबैभन्दा ठूलो औधोगिक करिडोर, पथलैया–वीरगञ्ज ६ लेन बाटो, पूर्वपश्चिम रेलमार्ग,फास्ट ट्रयाक, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, अम्लेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन र विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’जस्ता ठूला आयोजना सिमरासँग जोडिएका कारण सो क्षेत्रमा गरिएको लगानी सुरक्षित हुने श्रेष्ठको दाबी छ।

‘कानुनले बर्जित गरेकोबाहेक व्यापार, व्यवसाय, पर्यटनका लागि यो क्षेत्र धेरै सुरक्षित छ, लगानीमैत्री वातावरण छ’, उनले भने, ‘सिमरामा मात्रै मेरो १ अर्बभन्दा बढी लगानी छ, तारे होटलमा २० करोड रुपैयाँ लगानी गरिसकेको छु र निकट भविष्यमै बालबालिकाका लागि फनपार्क पनि सञ्चालनमा ल्याउँदै छु, आफ्नो लगानीबाट मात्रै मैले पाँच सयभन्दा बढीलाई रोजगारी व्यवस्था पनि गरिसकेको छु।’ व्यापारिक परिवारका सांसद श्रेष्ठले बारामा घरजग्गा कारोबारमा समेत ठूलो लगानी गरेका छन् । तर, तनहुँमा लगानी गर्ने भन्ने बारेमा उनले खासै खुलेर बोलेनन् ।

तनहुँबाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ तथा प्रभावशाली नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिन्छन् । विभिन्न कार्यक्रमका लागि बारा आएका केन्द्रीयस्तरका नेताहरु पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सांसद श्रेष्ठको होटलतिर छिर्ने गर्दछन् । त्यस्तै केही महिना अघि भएको भनिएको समाजबादी पार्टीका सांसदको अपहरण काण्डमा श्रेष्ठको नाम पनि मुछिएको थियो ।
यसैबीच, तनहुँबाट राजनीतिक उचाईं लिएर नेकपाको राजनीतिमा धनाड्य नेताका रुपमा चर्चा र परिचय बनाएका सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा भने खासै लगानी गरेको देखिदैंन् । सांसद श्रेष्ठले प्रधानमन्त्री ओली, वामदेव गौतम लगायतसंग आर्थिक साझेदारी गर्दै आएको बताइन्छ । (थाहाखवर.कमको सहयोगमा)




