
तनहुँमा कोरोना भाइरस संक्रमणको दर केही दिन यता ह्वात्तै बढेको छ । संक्रमितको संख्यामा आकस्मिक बृद्धि भएपछि समुदायमा थप संक्रमणको जोखिम देखिएको छ । भिडभाडयुक्त ठाउँमा काम गर्ने कर्मचारीहरुमा संक्रमण देखिएपछि सिंगो समुदाय र सेवाग्राहीहरु झन जोखिममा परेका छन् ।
जिल्लामा शुक्रबार एकैदिन ४४ जना, शनिबार ७ जना र आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सदरमुकाम पनि रहेको व्यास नगरपालिकामा मात्रै तीन दिनमा गरि ३५ जना संक्रमित थपिएका छन् । यो संख्या अहिले सम्मकै उच्च हो । व्यास नगरपालिकामा रहेका बैंकका कर्मचारी, प्रहरीहरु, औषधी व्यवसायी, र कारागारका बन्दीहरुमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
राम्रोसंग मास्कको प्रयोग नगर्ने, मर्निङ्गवाक गर्ने, बजार तथा भिडभाडमा घुमफिर गर्ने, भिडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पालना नगरी लापरवाही गरेका कारण विशेषतः दमौली बजार क्षेत्रमा कोरोना संक्रमण फैलिएको र समुदाय स्तरमा जोखिम उच्च रहेको उनले बताए ।
संक्रमणको दर र जोखिम घटाउन भिडभाड नगर्ने र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले पटकपटक सुझाव दिदैं आएका छन् । नत्र तनहुँमा कोरोनाको अवस्था र संक्रमण भयावह हुने देखिएको छ ।
व्यास नगरपालिकामा नागरिकको लापरवाहीका कारणले कोरोना संक्रमणको दर बढेको बताइएको छ । होम क्वारेन्टिनमा बसेका र पीसीआर परीक्षणका लागि स्वाब नुमना दिएका मानिसहरु पनि बजारमा लखरलखर डुल्ने गर्नाले संक्रमण फैलिएको स्वास्थ्यकर्मीहको भनाई छ ।
यसैबीच, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा व्यास नगरपालिकामा ३४ जनामा संक्रमण पुष्टि भएको छ । दमौलीको प्रभु बैंकमा कार्यरत ८ जना कर्मचारीमा संक्रमण भएको छ ।यसैगरी माछापुच्छे बैंक र लक्ष्मी बैंकमा कार्यरत एक–एक जना कर्मचारी पनि संक्रमित भएका छन् । यस्तै, नगरपालिका कार्यालयका आईटी अफिसर देखि औषधी व्यवसायी, विधालयका शिक्षक, प्रहरी, दमौली अस्पतालका कर्मचारी, कारागारका बन्दी समेत संक्रमित भएका छन् ।
महान चाडहरु दशै र तिहार नजिकिंदै गर्दा तनहुँमा बढेको कोरोना संक्रमणको दरले जिल्लाबासीलाई चिन्तित बनाएको छ । नागरिकको लापरवाहीका साथै स्थानीय निकायको अकर्मण्यताका कारण कोरोनाको ग्राफ तनहँुमा उच्च हुँदै गएको सबैको ठम्याई छ । स्थानीय निकायले जथाभावी रुपमा विधालय, क्याम्पस, वित्तिय संस्था र बजारलाई खुला गर्ने अनुमति दिएसंगै कोरोनाको अवस्था भयावह र त्रासदीपूर्ण बन्दै गएको छ ।
यसैगरि, बन्दिपुर गाउँपालिकामा एकै घरका ६ जना संक्रमित भएका छन् । शुक्लागण्डकी नगरपालिकामा क्वारेन्टिनमा बसेका सहित ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रिसिङमा शनिबार ६ जना संक्रमित थपिएका छन् ।
हालसम्मको तथ्याङ्क अनुसार तनहुँमा ९ हजार ३०५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४१० जना निको भएर घर फर्किएका छन भने ५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा १४९ जना उपचाररत छन् भने ४८ जना क्वारेन्टिनमा छन् ।





