
व्यासश्री सम्पादकीय
सुरक्षा सतर्कता अपनाएर पठनपाठन शुरु गरौं ।
कोरोना संक्रमणका कारण अझैपनि जनजीवन सामान्य बन्न सकेको छैन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पनि दिनप्रतिदिन संक्रमणको दर र जोखिम बढिरहेको देखिन्छ । तथापी, कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण र सुरक्षा सर्तकता अपनाएर जनजीवन सामान्य बनाउनु अहिलेको प्रमुख चुनौति हो ।
अन्य क्षेत्रजस्तै ६ महिनादेखि बन्द रहेका शिक्षणसंस्थाहरु क्रमशः देशभरिनै खुल्ने क्रममा रहेका छन् । सङ्क्रमणको जोखिममा बालबालिकाहरु हिजो पनि थिए र आज विद्यालय नआउँदाको अवस्थामा पनि त्यत्ति नै छन् । तसर्थ, केही समयको दूरशिक्षा तथा प्रविधिको प्रयोग गरेर गरिने सिकाइ सहजीकरणपछि विद्यालय खोलेर नियमित पठनपाठनको अर्को विकल्प देखिँदैन । भारतलगायतका अन्य देश र नेपालमै पनि विभिन्न स्थानहरुमा विद्यालय खुलेका, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी शिक्षण सिकाइ भइरहेका समाचारहरु आइरहेका छन् ।
अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणीयरुपमा निरन्तर सजगता रहन सक्यो भने विद्यालय हाल सोचिएको जस्तो सङ्क्रमणको केन्द्रभन्दा पनि सचेतना जगाउने, सङ्क्रमण न्यूनीकरण गर्ने केन्द्र बन्न सक्छ । जसका लागि अभिभावकले आफ्ना बाबुनानीहरुको बानी घरैदेखि सुधार गर्दै पञ्जा, मास्क, फेस सिल्ड, झोलामा स्यानिटाइजर, पानीको बोतल, चम्चासहितको खाजा र विद्यालय ल्याउने र लैजाने व्यवस्था गर्नुपर्दछ ।
यसका अतिरिक्त विद्यालयहरुले समेत हिजोको पूर्वाधार र व्यवहारमा सुधार गरी आवश्यक स्वास्थ्य उपकरणसहित कम्तीमा एक जना स्वास्थ्यकर्मीको व्यवस्था, विद्यालयका कक्षाकोठा, शौचालय, धारा आदि सबै स्थानमा जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्डको पालना गर्ने भयमुक्त र व्यवस्थित वातावरण सृजना गर्नुपर्दछ । तर, तत्कालै पूर्वाधार विकास गर्न सम्भव नहुने भएकोले भौतिक दूरी कायम गर्नका लागि हप्ताको ३ दिन विद्यालयमा प्रत्यक्ष उपस्थित भई अध्ययन गर्ने र ३ दिन घरमै विद्यालयको समय तालिकाबमोजिम गृहकार्य गर्ने व्यवस्था मिलाउनुपर्दछ भने पछि क्रमशः पूर्वाधार विकास गर्दै सबै विद्यार्थीहरुलाई विद्यालयको कक्षाकोठामा मापदण्ड पालना हुने व्यवस्था गर्नुपर्दछ ।
तसर्थ, कोभिड–१९ सङ्क्रमणसँग सजगता अपनाउँदै आफ्ना दैनिकी सञ्चालन गर्नुपर्ने अहिलेको बाध्यता भएकोले बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न सक्नुपर्दछ । साथै निर्दिष्ट सिकाइ उपलब्धिहरु हासिल गर्न केही समय दूर तथा खुल्ला शिक्षालगायतका प्रणालीलाई लागू गरे पनि सङ्क्रमण, विद्यार्थीहरुको सहभागिता र प्रभावकारिताको सूक्ष्म मूल्याङ्कन गरी विद्यालय खोली शिक्षक तथा विद्यार्थीहरुलाई प्रत्यक्ष सिकाइ क्रियाकलापमा सहभागी बनाउन ढिला गर्न हुँदैन ।
कोरोनासैगै जीवन जीउने कला विकास गर्दै शैक्षिक गतिविधी र पठनपाठनलाई केन्द्र देखि स्थानीय तहमा सहज बनाउदै लैजानु पर्दछ र सामान्य जनजीवन तर्फ हामी सबै उन्मुख हुनु पर्दछ, यसैमा सबैको भलाई छ ।





