कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि पर्यटकीय नगरी पोखरामा एक हप्ता प्रवेश निषेध साथै निषेधाज्ञा जारी गरिएको छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले भदौ १ गतेदेखि एक हप्ता सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । साथै यस अवधिमा बाहिरबाट पोखरा प्रबेशमा निषेध गरिएको छ ।

आज सोमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिए । स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्नेरनथप्ने भन्ने निर्णय गरिने उनले बताए ।

‘चाडपर्व आउँदै छन् । बढी भीड हुने भएकाले जोखिम झन् बढ्ने निष्कर्ष सहित बन्द गर्ने निर्णय गर्‍यौं । बैठकमा भएको निर्णय सिसिएमसीमा सिफारिस गर्छौं,’ सदस्य पौडेलले भने ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् ।

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार पनि १२ संक्रमित भेटिएका थिए । पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

संक्रमितमध्ये १ सय २५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर बढिरहेको छ ।