दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा आज बिहीबारदेखि सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु भएको छ।

गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढेपछि सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली पुनः लागु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका कर्मचारीलाई बोलाएर सवारी साधन सन्चालन विषयमा बुधबार साँझ छलफल गरेका थिए। लकडाउन खुलेपछि उपत्यका भित्रिएका धेरैमा कोरोना संक्रमण देखिएको छ।

साउन ६ गते मध्यरातदेखि लकडाउन हटाइएसँगै सवारी साधन सञ्चालनमा लागु भइरहेको जोर–बिजोर प्रणाली पनि हटेको थयो। त्यसअघि सरकारले असार २६ गतेदेखि छोटो दुरीका सार्वजनिक सवारी साधन सन्चालन जोर–बिजोर प्रणाली लागु गरेर सन्चालन गर्ने निर्णय गरेको थियो। उपत्यकाको हकमा तिन जिल्लाभित्र र बाहिरका जिल्लाको हकमा जिल्लाभित्र मात्र सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था थियो।

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन ७ गतेदेखि मात्र सवारी सञ्चालनमा ल्याएका थिए। भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्ने सरकारको तयारी छ।