नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको र सेवाबाट विस्थापित भएको बताएका छन् ।

नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए ।

कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रुपमा परिचालन भएको छ । आचार्यले कोरोना सङ्क्रमणपछि पाँचवटा रेडियो बन्द भएको जानकारी दिए ।

बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उनले जानकारी दिए । लकडाउनको अवधिमा देशभरका ७०० छापामाध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चारगृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए ।

“स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्र मोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उनले भने, “हामी आमजनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उनको भनाइ थियो ।

आचार्यले दुई थरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढङ्गले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चारगृहमा काम गरिरहेको बताए ।

पचास प्रतिशतभन्दा बढी पत्रकार आफैँले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उनले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको बताए ।

उनले भने, “ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ ।” यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका प्रभावित भएको उनको भनाइ छ । पत्रकार विस्थापित हुनु भनेको धेरै ठूलो क्षति हो भन्दै उनले भने, “मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।”

पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उनले महासङ्घ र जिल्ला शाखाले आपतकालीन कोष खडा गरेको बताए । यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, “आपतकालीन, अल्पकालीन र दीर्घकालीनरुपमा सम्बोधन गर्नुपर्छ ।” मिडियालाई व्यवस्थित बनाउन व्यावसायिक चरित्र अङ्गीकार गर्न राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ ।

राज्यले मिडियालाई परेको समस्या र पेसागतरुपमा पत्रकारलाई परेको समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना भए नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उनले बताए ।

उनले भने, “मिडिया हाउसलाई पनि सहुलियत पूर्ण ऋण दिनुपर्यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुप¥यो ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

टोलीले जिल्लाका पत्रकारसँग अहिलेको अवस्थाको बारेमा जानकारी लिँदै सरोकारवालासँग छलफल गरिरहेको छ । प्रदेश राजधानीमा कार्यक्रम गरी सरोकारवालालाई आफ्नो सुझावसमेत दिने गरेको छ ।

महासङ्घले दुई हजारभन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाको बारेमा सर्वेक्षण गरिरहेको महासचिव विष्टले जानकारी दिए । यस्तै शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासङ्घले गरिरहेको छ ।