नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएपछि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अन्य संक्रमितको उपचार पनि यही पद्धतिबाट गर्ने भएको छ । उपचार पद्धतिलाई देशभर विस्तार गर्न लागिएको छ ।

परिषद्ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न देशभरिमा १२ वटा अस्पताल तोकेको छ ।

परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ ।

सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।

सदस्य सचिव डा। ज्ञवालीका अनुसार दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ ।

दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ ।

कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ । उनले अघि भने, ‘अहिलेसम्म २५ दाताले प्रतिवद्धता जनाउनुभएको छ ।’