नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ ।

कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको म्याद शुक्रबार थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।

यसैबीच, देउवाको मनोमानीमा गरिएको भातृसंघको म्याद थप प्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले खरो विरोध जनाएका छन् । उनले पार्टीको लेटर प्याडमा रातो क्रस लगाएर फेसबुकमा पोष्ट पनि गरेका छन् ।

पौडेलले भनेका छन् “निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ ।”