
कोरोना भाइरसको संक्रमित बढेपछि स्याङ्जा जिल्ला १० दिनको लागि सिल गरिएको छ ।
जनताको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलिएपछि समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवा बाहेक आवतजापतमा पूर्णरुपमा बन्देज गरिएको हो । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले २ दर्जन सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभाबको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्णरुपले फैलिन नदिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको हो।
सिसिएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि कारबाही हुने प्रजिअले बताएका छन् । जिल्ला पूर्णरुपमा बन्द गरे पनि कोरोना संक्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब लिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
जिल्लामा साउन ६ गते ट्राभल हिस्ट्री नभएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको थियो भने साउन १२ गते प्रहरी प्रमुख एसपीसहितमा संक्रमण पुष्टि भएको थियो ।




