पालुङटार विमानस्थलको भित्री कथा :

देशका विभिन्न ठाँउमा हालसम्म साना ठूला गरि ४८ वटा विमानस्थलहरु निर्माण भएका छन् जसमध्ये हाल ३९ वटा मात्रै सञ्चालनमा रहेका छन् र बाँकी ११ वटा विमानस्थल विभिन्न कारणले बन्द हुन पुगेका छन् । यसैवीच, तनहुँ र गोरखा जिल्लाको सिमानामा अवस्थित पालुङटार विमानस्थल पनि वि.सं. २०२९ सालदेखि बन्द अवस्थामा रहेको छ । सञ्चालनमा रहँदा नियमित रुपमा २–३ वटा जहाजले उडान भर्ने गरेको सो विमानस्थल अहिले गाईभैंसी चरनस्थलमा परिणत भएको छ ।

गाईभैसी चरनस्थल जस्तो देखिने यो ठाँउ विमानहरु उडान भर्ने विमानस्थल क्षेत्र हो । तनहुँ र गोरखा जिल्लाको सिमानामा अवस्थित पालुङटारमा रहेको यो विमानस्थल विस २०२९ सालदेखि बन्द अवस्थामा रहेको छ । विमानस्थल बन्द भएपछि अहिले यो क्षेत्र अलपत्र परेको छ र मर्मत सम्भार नहुँदा यसको स्वरुप परिवर्तन भई चरनस्थलमा परिणत भएको छ । विमानस्थल करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तिनताका निकै चर्चित विमानस्थलको रुपमा रहेको यो विमानस्थलबाट नियमित रुपमा २–३ वटा जहाजले उडान भर्ने गरेको यहाँका पुराना स्थानीयको भनाई छ । विमानस्थल अगाडि नै घर भएका मात्रिका बहादुर पराजुलीले पोखरा देखि काठमाण्डौंसम्म जोड्ने पृथ्वी राजमार्गको निर्माण २०२९ सालमा भएपछि यो विमानस्थल बन्द हुन पुगेको बताए । विमानहरु सञ्चालन हुँदा आँफुहरुलाई निकै सहज भएको बताउने स्थानिय बासिन्दाहरु विमानस्थल बन्द भएपछि निकै निराश बनेका छन् । बन्द रहेको यो विमानस्थल पुन: सञ्चालन गरिदिन उनीहरुले सम्वन्धित निकायसंग आग्रह गरेका छन् ।

विमानस्थल सञ्चालन हुँदा गोरखा लगायत छिमेकी जिल्लाहरु तनहुँ , लमजुङ, मनाङ, मुस्ताङका बासिन्दाहरुले पनि यहाँवाट विमान सेवा पाएका थिए । त्यतिवेला पालुङटार क्षेत्रमा निकै चहलपहल थियो र यहाँको व्यापार व्यवसाय पनि फस्टाएको थियो । पालुङटार भएर विभिन्न जिल्लामा जाने पर्यटकहरुको यहाँ ताँती नै लाग्ने गरेको थियो । तर, विमानस्थल बन्द भएसंगै अहिले यो क्षेत्र सुनसान बनेको छ भने यहाँको आकर्षण र चहलपहलमा निकै कमी आएको छ ।

समुन्द्री सतहवाट चार सय सन्ताउन्न मिटरको उचाईमा अवस्थित यो विमानस्थलको धावनमार्ग १ हजार ९७ मिटर रहेको थियो । विमानस्थल सञ्चालन हुँदा त्यतिवेला वीचक्राफ्ट १९०० र साव ३४० मोडलका जहाजहरु र हेलिकोप्टरहरुले यहाँवाट उडानहरु भर्ने गर्दथे ।

तर विमानस्थल बन्द भइसकेपछि यसको सिमाना पनि अतिक्रमण भएको छ भने विमानस्थलको जग्गा मिचेर वरिपरी घरहरु निर्माण गरिएका छन् । त्यस्तै विमानस्थलमा निर्माण गरिएका कतिपय संरचना जीर्ण भएका छन् भने कतिपय भग्नावशेषमा परिणत भएका छन् । विमानस्थलको मर्मत सम्भार र सुरक्षा नहुँदा यो क्षेत्र अहिले घाँसे मैदान र चरनस्थलमा बदलिएको छ ।

बुद्धिजीवी एवं प्राध्यापक दिवाकर मरहठ्ठाले यो क्षेत्र पाँच जिल्लाको केन्द्र भएकाले पनि यो विमानस्थल पुन सञ्चालन गर्नुपर्ने बताए । यही क्षेत्रवाट चुनाव जितेर देशको प्रधानमन्त्री बनेका डाक्टर बाबुराम भट्टराइले पनि यो विमानस्थलको पुन: निर्माण र सञ्चालन गर्न नसकेकोमा उनले दुखेसो पोखे । र, विमानस्थल भविष्यमा पुन सञ्चालन हुनेमा पनि उनले झिनो आशा व्यक्त गरे ।

पहाडी र हिमाली क्षेत्रमा निर्माण भएका यस्ता विमानस्थलहरु नियमित सञ्चालन नहुँदा सो क्षेत्रका बासिन्दा निकै मर्कामा परेका छन् । देशका अन्य भागमा पनि पालुङटार जस्तै अन्य विमानस्थलहरु बर्षौदेखि बन्द र अलपत्र अवस्थामा रहेका छन् । सरकारले बन्द अवस्थामा रहेका यस्ता विमानस्थलहरु पुनः सञ्चालन गर्न चासो देखाउनु पर्दछ ।

विमानस्थल सञ्चालनको तयारी

यसैबीच, बर्षौदेखि अलपत्र रहेको सो विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ । स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि बजेट छुट्याइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । त्यसका लागि काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसकेको र आगामी असार मसान्तसम्म काम सक्नुपर्ने हुन्छ ।

‘रनवे लाई सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्ने र एयरपोर्ट वरपर चेन लिंक फेन्स (एयरपोर्ट क्षेत्रमा लगाइने तारबार) लगाएर पशुचौपाया छिर्न नसक्ने बनाइने उनले बताए ।

बिमानस्थलको अतिक्रमित जग्गामा डोजर लगाइने उनले जानकारी दिए । ‘यो वहुवर्षीय योजना हो, अहिलेको बजेटले छोटो दुरीका साना जहाज उडान गर्न मिल्ने गरी स्तरोन्नती गर्छौं, पछि रकम थप्दै स्तरोन्नति हुँदै जानेछ,’ उनले भने ।