
बाढी र पहिरोले क्षतिग्रस्त भएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्ड फेरि बन्द भएको छ।
राजमार्गको बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि २ दिन सम्म वैकल्पिक मार्ग निर्माण गरिएकोमा त्यसमा पनि फेरि समस्या आएकोले आज शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ ।
वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या आयो । उनले भने, ‘त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ ।’ उनका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ ।
यही साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो ।




