
कोरोना भाइरसको संक्रमणका कारण शनिबार साँझसम्म १४३ नेपालीको विदेशमा मृत्यु भएको बताइएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायतका १४ वटा देशमा रहेका नेपालीको मृत्यु भएको छ ।
पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप ६, भारतमा ५, ओमान र कुवेतमा १–१ जना नेपालीको मृत्यु भएको हो ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।
शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ कोरोना मुक्त भएका छन् ।
एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।
यसैबीच, एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको बताइएको छ ।




