
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ११ राजनीतिक पार्टीले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । सोमबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशन बाटै पारित गर्नुपर्ने अडानमा रहेकोले सो कार्यको बिरोध गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ । संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म एमसीसीको खारेजी माग जारी राख्ने निर्णय गरिएको छ । आगामी १० गते हुन लागेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा एमसीसीबारे नै छलफल हुने भएकाले विकसित परिस्थितिमाथि ध्यान दिँदै आगामी असार ११ गते संयुक्त बैठक बसेर संघर्षको आगामी योजना तय गरिने पनि ११ राजनीतिक दलले निर्णय गरेका छन ।




