
व्यास नगरपालिका वडा नं —३ निवासी स्व.हरिभक्त भट्टराईको स्मृतिमा ‘हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।
पेशाले सबईन्जिनियर रहेका स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उनको परिवारले अक्षयकोष स्थापना गरेका हुन् । स्व.भट्टराईकी धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराईले सो रकम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गरे । समाजसेवा र पत्रकारिता क्षेत्रमा आफ्ना स्वर्गीय बुवाको विशेष समर्पण र सद्भाव रहेकाले उहाँको आत्माको शान्तिका लागि सो अक्षयकोष स्थापना गरिएको छोरा सुमनले बताए ।
जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं । समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न गर्नेछौं”, सुमनले बताए । पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गर्नुभएको अध्यक्ष पौडेलले बताए ।
केन्द्रिय सदस्य प्रदीप काफ्लेले र तनहुँका पूर्व अध्यक्ष अधिकारीले पुरस्कारको स्थापनाले पत्रकारिता क्षेत्रमा लाग्नका लागि पत्रकारहरुलाई प्रेरित गर्ने बताए ।




