
नेपालको राष्ट्रियताका बारेमा संसदमा विवादास्पद अभिव्यक्ति दिएकी र सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी सांसद सरिता गिरीलाई कारवाही गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ ।
कार्यदलको सिफारिस पार्टीले निर्णय गरेमा गिरीको सांसद पद खारेज हुनेछ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन संसदमा अनुपस्थित रहेकी थिइन।
गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको र कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको बताइएको छ ।




