
नेपाल रेडक्रस सोसाइटी, तनहुँ शाखाको सभापतिमा प्रा.डा. कृष्ण प्रसाद गौतम सर्वसम्मत रुपमा चयन भएका छन् ।
दमौलीमा भएको शाखाको ४० औँ वार्षिक साधारण सभा तथा १३ औ जिल्ला अधिवेशन मार्फत प्रा.डा. गौतम सभापतिमा चयन भएका हुन् । सभापतिमा चयन भएका गौतम त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायका पूर्व डीन हुन् । 
त्यसैगरि शाखाको उपसभापतिमा नारायणी अधिकारी र कमलभक्त पोख्रेल, मन्त्रीमा सूर्यचन्द्र हड्खले, कोषाध्यक्षमा प्रतापसिंह अधिकारी, उपमन्त्रीमा केशव भट्टराई, उप–कोषाध्यक्षमा हरि सिग्देल चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा चिनु पोख्रेल, केशमाया गुरुङ (केसु), सरस्वती थापा, मधुरा श्रेष्ठ, विवेक न्यौपाने, विमल गिरी, सुमन थापा, केशवराज पोख्रेल, कृष्णराज न्यौपाने, विपिन्द्रसेन ठकुरी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सो कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वाग्लेले रेडक्रस समाजिक संस्था भएकोले सहमतीबाट नयाँ नेतृत्व छान्न व्यवहारिक हुने बताएका थिए । मानवताको सवाल कमजोर भएको समयमा रेडक्रसको महत्व झनै बढ्दै गएको वाग्लेले बताएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सभापति सुर्य प्रसाद ढकालले रेडक्रसको केन्द्र कमजोर भएपनि जिल्ला शाखाहरु सवल बन्न सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद गौतम, रेडक्रस तनहुँ शाखाका पूर्व सभापतिहरु ध्रुवलाल प्रधान, रामनाथ भट्टराई, परशुराम गरी र उदयराज गौली, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए । यसैबीच, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठलाई सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा सो अवसरमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट शिक्षक नायकतर्फ मित्रता माविका शिक्षक हरिभक्त अधिकारी र उत्कृष्ट उपशाखातर्फ दुम्सीकोट उपशाखा व्यास १० लाई सम्मान गरिएको थियो ।
कार्यक्रमा गण्डकी प्रदेश स्तरीय चित्रकला प्रतियोगतामा प्रथम हुने रामशाह माविका सुरेश अर्मललाई पुरस्कृत गरिएको थियो । निवन्ध प्रतियोतिामा द्धित्तिय स्थान हासिल गर्ने सत्यवती माविका विपिन श्रेष्ठलाई र निवन्ध प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने बालमन्दिर माविकी छात्रा ममिता गोतामेलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
अधिवेशनमा शाखाकी मन्त्री चिनु पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने शाखाका कोषाध्यक्ष हरिशरण पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा उपसभापति ऋषिराम पोख्रेलले स्वागत गरेका थिए भने अर्का उपसभापति नुरचन्द्र वाग्लेले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ अन्तर्गत रहेका २९ वटा उपशाखाहरुमा १ सय ६८ जना सदस्य रहेका छन् ।




