
बसन्त कंडेल
मानहुँकोटको मोहनी
सेतो कपासको भुवासरि कुहिरोको एकछत्र साम्राज्य । दुर छितिज सम्म सेताम्य, निःशव्द शान्त र सौम्य वातावरण र त्यहीबीच पूर्ववाट उदाउँदो सूर्यको लालिमा अनि त्यसैसंगै मुस्कुराउँदै टल्किएका स्वर्ण दन्तलहर सरि हिमश्रृंखला । सूर्यकिरणको न्यानोसंगै सिमलको भूवाझैं माथिमाथि बिस्तारै उड्दै जाने कुहिरो र कुहिरो खुलेपछि देखिने चिटिक्क परेको दमौली बजार, सेतीमादी नदीको चित्ताकर्षक नागबेली, साँगे, बुल्दी र छाव्दी खोलाका मोडहरु, कलेस्ती, गुणादी, जामुने र साँगेका हरिया फाँट, जिल्लाकै गौरवको रुपमा निर्माणाधीन तनहुँ जलविद्युतको बाँध र निर्माण स्थल एवं दर्जनौ मनोरम डाँडाहरु । हो, यति देखेपछि कसको मन नलोभिएला र ? मानहुँकोटको यही रुपले गर्दा अहिले त्यहाँ पुग्ने पर्यटकहरुलाई मोहनीनै लगाएको छ । र पुग्न नसकेकाहरुलाई जाउँजाउँ लागेको छ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित सुन्दर पर्यटकीय गन्तव्य मानहुँकोटको चर्चा परिचर्चा अहिले देश विदेशका सञ्चार माध्यम देखि सामाजिक सञ्जालका भित्ताहरुमा भाइरल नै बनेको छ ।

मानहुँकोटको चर्चा र सुन्दरता सुनेर देशका विभिन्न ठाउँबाट अहिले मानहुँकोट पुग्नेको ओइरोनै लागेको छ । आखिर मनै हो, प्रकृतिले कसलाई पो लोभ्याउँदैन र? कोरोना संक्रमणको महामारी र सन्त्रासलाई छिचोलेर पनि मानहुँकोटमा अहिले दिनहुँजस्तो महोत्सवनै लागेको छ । शनिबार मात्रै बिहानदेखि साँझसम्म गरेर करिव २० हजार पर्यटक मानहुँकोट पुगेको व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
विशेषतःसामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेर र देखेर आफ्ना दौँतरीहरुसंगै मानहुँकोट पुग्ने युवायुवतीहरुको ताँती लागेको छ । फेसबुक, ट्वीटर, टिकटक जस्ता चर्चित सामाजिक सञ्जालका भित्ताहरु अहिले मानहुँकोटका दृश्य र भिडियोले सजिसजाउ भएका छन् । स्वर्गको टुक्रासरी मानहुँकोटको वर्णन शब्दमा सिमित गर्न मुस्किल छ ।

मानहुँकोट पुग्न र अवलोकन गर्न पाएकोमा पर्यटकहरु प्रफुल्लित र मन्त्रमुग्ध देखिन्छन् । देशका नाम चलेका यू–ट्युवर भाग्य न्यौपानेदेखि दर्जनौं पत्रकारहरुले मानहुँकोटको बारेमा ‘लाइभ’ प्रसारण गरेका छन् । ‘यहाँको दृश्यले मनै लोभ्यायो, अनि मोहनीनै लगायो’ यू–ट्युवर न्यौपानेले भने ‘जीवनमा एक पटक मानहुँकोटको अवलोकन अवश्य गरौं, प्रकृतिको अनुपम लीला रस्वादन गरौं ।’
अवसर र चुनौतीहरु
पर्यटकहरु र सवारीको व्यवस्थापनका लागि २० जना प्रहरी र ट्राफिक प्रहरी खटाइएको भएतापनि अत्यधिक चापका कारण निकै समस्या भएको थियो । कतिपय पर्यटकहरु बाटोमा भएको सवारीको जामका कारण बीचबाटै फर्किएका थिए । मानहुँकोटमा शनिबार हालसम्मकै सबैभन्दा बढी मानिस पुगेको अध्यक्ष श्रेष्ठले बताए । जसबाट मानहुँकोटमा अवसर र चुनौती एकैचोटी भित्रिएको उनको ठम्याई छ । एकातर्फ हजारौंको संख्यामा भित्रिने पर्यटकले मानहुँकोटको प्रचारप्रसार विश्वव्यापी भएको र प्रचुर पर्यटकीय सम्भावनालाई उजागर गरेको र अर्कोतर्फ पर्यटकहरुलाई सहजता, सुरक्षा, सुविधा र व्यवस्थापन गर्न चुनौती थपिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । यसैबीच, कोरोना संक्रमणको चुनौती भयावह भइरहेका बेला मानहुँकोटमा उर्लिएको मानवसागरले संक्रमणको दर बढ्नेमा सबैलाई चिन्तित बनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मानहुँकोट आउनका लागि अवलोकनकर्ताहरुलाई अनुरोध गरिएतापनि अत्यधिक चापका कारण त्यो सम्भव नदेखिएको वडाध्यक्ष श्रेष्ठले स्वीकार गरे । मानहुँकोटमा मानिसहरुको भीडसंगै वातावरणीय सरसफाईको समस्या पनि उत्तिकै चुनौती बनेको छ । मानहुँकोटमा पर्यटकको आकर्षण र चाप बढेपछि सोको व्यवस्थापन गर्न वडालाई मात्रै हम्मेहम्मे भएको बताउँदै उनले यसमा व्यास नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको ध्यान पुग्नुपर्ने बताए । वडामा बजेट, साधन र स्रोतको अभावका कारण मानहुँकोटमा आवश्यक पर्यटकीय योजना र पूर्वाधार निर्माण गर्न समस्या भएको उनको भनाई छ । मानहुँकोटमा पर्यटकको चाप बढेपछि सबैको ध्यानाकृष्ट भएको बताउँदै सो ठाउँको व्यवस्थापनमा केन्द्रित रहेर व्यास नगरपालिकाको वोर्ड बैठकनै आइतबार दिउसो मानहुँडाँडामा बस्ने व्यास नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तनहुँमा उदाउँदो पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार हुँदै गरेको मानहुँकोटमा पर्यटकहरुको आगमन बढेसंगै दमौली बजारको स्वरुप र वातावरण पनि बदलिएको छ । अहिले दमौली बजारका होटलहरु भरिभराउ छन् भने बजारमा पनि चहलपहल निकै बढेको छ । होटलमा पाहुनाहरुको आगमन भएपछि दमौलीको आर्थिक कारोबारमा पनि बृद्धि भएको छ । मानहुँकोटको अवलोकनका लागि आउने पर्यटकहरु दमौली बजार संगै व्यास–परासर गुफा, तनहुँ जलविधुत आयोजना स्थल, छाव्दी मन्दिर, कलेस्ती लगायतका ठाउँमा पनि पुगेका छन् । जसले गर्दा ती क्षेत्रहरुको पर्यटकीय गतिविधीमा टेवा पुगेको छ ।



दशैं–तिहारमा मौसम पनि अनुकुल हुने भएको र बिदा पनि हुने भएकाले मानहुँकोटमा अत्यधिक आन्तरिक र बाह्य पर्यटक पुगेका छन् । त्यसो त मानहुँकोटमा दैनिक एक हजार भन्दा बढी पर्यटक आउने गरेको स्थानीयको भनाई छ ।
बिहान सबेरै देखि चापाघाटबाट मानहुँकोट जाने सवारी साधनको ताँती लाग्ने गरेको स्थानीय पत्रकार विवि श्रेष्ठले जानकारी दिए। रातको समयमा पनि मानहुँकोटमा टेण्ट टाँगेर रात बिताउने पर्यटक अत्याधिक रहेको टेण्ट सञ्चालक सुरज साहले जानकारी दिए । उनका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् ।
मानहुँकोटका थप विशेषता
जाडो मौसम शुरु भएदेखि र विशेषतः कुहिरो लाग्न थालेदेखि मानहुँकोटमा पर्यटक आगमन ह्वात्तै बढेको छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने र त्यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, हिमचुली, मनास्लु लगायतका हिमालका मनोरम दृश्यहरु एकै नजरमा अवलोकन गर्न सकिन्छ । यसैगरि चारैदिशामा रहेका दर्जनौ हरिया पहाड र नागबेली परेका खोला–नदीहरु र मनमोहक फराकिला फाँटहरु समेत यहाँवाट अवलोकन गर्न पाइन्छ ।

मानहुँकोट जैविक विविधता ले पनि निकै धनी छ । विभिन्न जाती प्रजातिका जडीबुटी, पशुपक्षी, र बन्यजन्तु मानहुकोटको अर्को विशेषता हो । मानहुँकोट भौगोलिक र प्राकृतिक दृष्टिले मात्र नभई मगर समुदाय भित्रको लोकसाँस्कृतिक दृष्टिले समेत निकै धनी रहेको छ । मगरहरुको रहनसहन, भेषभूषा, कला संस्कृतिको अध्ययनका लागि पनि यो ठाउँ चर्चित छ । सदरमुकाम दमौलीबाट ७ किलोमिटरको दुरीमा अवस्थित मानहुँकोट प्रशस्त पर्यटकीय सम्भावना बोकेको गाँउ हो । तर उचित प्रचारप्रसार हुन नसक्दा यो ठाँउ ओझेलमा परेको थियो तर हालसालै सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएको अभूतपूर्व प्रचारप्रसारले यसको चर्चा ह्वात्तै चुलिएको छ र नेपालकै प्रमुख मध्येको पर्यटकीय गन्तव्यका रुपमा यसले स्थान जमाएको छ । र यसलाई एउटा अवसरको रुपमा लिन सकेमा मानहुँकोटको पर्यटकीय चिनारीका साथै समग्र तनहुँको पर्यटकीय गतिविधीमा यसले सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
पर्यटकीय पूर्वाधार
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै नगरपालिका र वडाको पहलमा यहाँ केही पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ। दृश्यावलोकनका लागि पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा चारैतिर रेलिङ निर्माण गरिएको छ भने ३६ लाख ५० हजार रुपैयाको लागतमा “भ्यू टावर” निर्माण को कार्य शुरु गरिएको छ । वडाअध्यक्ष श्रेष्ठले बजेट उपलब्ध भएमा मानहुकोटमा मौलिक नेपाली पिङहरु, बञ्जी जम्प, प्याराग्लाइडिङ, होमस्टे, संग्रहालय, होटल, कटेज, बाटो, खानेपानी, सौचालय, विश्रामस्थल, दुरविन लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको बताए । आधारभूत पूर्वाधार निर्माणका लागि करिव २ करोड रुपैया बजेट आवश्यक भएको र सो भएमा पोखरा आउने २५ प्रतिशत पर्यटकलाई मानहुँकोटमा पुर्याउन सकिने पनि उनले विश्वास दिलाए । मानहुँकोटमा रहेका सार्वजनिक र निजी जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै उनले अधिकाँश जग्गाहरु व्यापारी व्यवसायीको हातमा रहेकाले समस्या भएको बताए ।
मानहुँकोटमा शनिबार उर्लिएको मानवसागरलाई लक्षित गरि विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न प्रतिक्रिया दिएका छन् ।
मानहुँकोटको थप पर्यटकीय विकास गर्न सकेका वर्षैभरि यहाँ स्वदेशी र विदेशी पर्यटकलाई भित्र्याएर ठूलो आर्थिक लाभ लिन सक्ने प्रशस्त सम्भावनाहरु छन् जसका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।




