तनहुँमा पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ । सोही कार्य अन्तर्गत मंगलबार एक कार्यक्रमका बीच बन्दीपुर गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाले सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा भएको हो ।

गाउँपालिकाका ६ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अन्जीर भट्टराइले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि शान्तिरमण वाग्लेले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । गाउँपालिकाको सवै वडाका अध्यक्षहरुलाइ समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

“स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता १५ महिना उमेर भित्र सबै खोप हरु पुरागरी बालबालिकाहरुलाइ रोगबाट सुरक्षित बनाऔं” भन्ने नाराका साथ सुरु भएको कार्यक्रम बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्लेले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानिय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा र प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताए ।

यस्तै गाउँपालिका अध्यक्ष थापाले पालिकाले स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताए । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताए । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको र गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए ।

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ, प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमाल, वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।