
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरी स्थित बरालुङ्ग गाउँदेखि चितवनको इच्छाकामना गाउँपालिकाको जलविरे जोड्ने ग्राभिटी रोपवे बन्द भएको छ । सो रोपवे सेवा बन्द हुँदा स्थानीयलाई सामाग्री, अन्नपात र फलफूल ढुवानी गर्न निकै समस्या भएको छ ।
बरालुङ्ग गाउँ लगायत वरपरका बस्तीका बासिन्दालाई तरकारी लगायत अन्य स्थानीय उत्पादन ढुवानीमा सहज बनाउन यो ग्राभिटी रोपवेको स्थापना गरिएको थियो ।
यातायातको सुविधा नपुगेको र इन्धनको समेत आवश्यकता नपर्ने यस रोपवेले बरालुङ्ग गाउँका ४२ घरधुरी र छिमेकी वस्तीका समेत गरी करीब १०० घरधुरीलाई सुविधा पुगेको थियो । तर रोपवे सेवा बन्द हुँदा स्थानीयहरु निकै चिन्तित भएका छन् ।
सो क्षेत्रमा कच्ची मोटरबाटोको निर्माण भएपछि सो रोपवे बन्द भएको बताइएको छ।
नेपालमा भित्रिएको नौलो खालको यस प्रविधिलाई सञ्चालन गर्न सकेको खण्डमा पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने देखिन्छ । साथै बरालुङ्ग गाउँमा रहेको रोपवे हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई होमस्टे संचालन गरी राख्न सकेमा यस ठाउँको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।
के हो ग्राभिटी रोपवे ?
पृथ्वीको गुरुत्व बलको सहायताले सञ्चालन गरिने भएकाले यसलाई ग्राभिटी रोपवे भनिएको हो । यसबाट सामान ढुवानी गर्दा माथिको स्टेशनबाट तीन गुना सामान तल झार्दा तलबाट एक तिहाई सामान माथि लैजान सकिन्छ । उदाहरणको लागि भन्नुपर्दा माथिको स्टेशनबाट ९० किलो सामान तल झार्दा तलबाट ३० किलोको सामान माथि लैजान सकिन्छ । ग्राभिटीको माध्यमबाट ढुवानी गरिने भएकाले इन्धनको आवश्यकता पनि पर्दैन।
९९० मिटर लम्बाई यो रोपवे युरोपेली संघ र होजे फाउण्डेशन स्पेनको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपाल र एन.जि.ओ. नेटवर्क तनहुँको साझेदारीमा सञ्चालित पहुँच कार्यक्रमको रु.११,३२,६४९ र साविक छिम्केश्वरी गा.वि.स.को रु.९०,००० आर्थिक सहयोग तथा उपभोक्ताहरुको रु.२,९२,५२० बराबरको जनश्रमबाट सृजनशील सामुदायिक संस्थाद्वारा २०६६ चैत्रमा निर्माण सम्पन्न गरिएको हो ।

शव्द र तस्विर : सुरेन्द्र वाग्ले




