तनहुँमा डेंगुको सङ्क्रमण दर बढेको छ । जिल्लाको सदमुकाम दमौली स्थित अस्पताल लगायतका अन्य अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ ।

सङ्क्रमण बढेकाले दमौली अस्पतालमा विरामीको भीड लागेको छ । कत्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिए । दुई सय १५ जनाको परिक्षण गर्दा सो सङ्ख्यामा पोजिटिभ देखिएको हो । विशेष गरी असोज देखि तनहुँमा डेंगुको सङ्क्रण फैलिएको र असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण भएको डा. ढकालले बताए । अस्पतालमा डेंगुको परीक्षण हुँदा सङ्क्रमित भेटिंदै गएको अस्पतालले जनाएको छ । अस्तपालका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शङ्का लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको हो ।

डेंगुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने लगायतको सचेतनाका कार्यक्रम गरिएको अधिकारीले बताए।

विशेष गरी सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगुको सङक्रमण फैलिने गरेको छ । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेंगुसंग मिल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले आग्रह गरेको छ । सङक्रमितको सङख्या धेरै देखिएकोले अवस्था जोखिमपूर्ण भएकोले सर्तकता अपनाउन आग्रह गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताए । ‘रोगको नियन्त्रण, न्यूनिकरण र रोकथामको लागि लामखुट्टेले फूलपार्ने ठाउँहरु खोजौं र नष्टगरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ’ अधिकारीले बताए । डेंगुको सङ्क्रमण बढ्दै गएकोले लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्न र घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी जम्न नदिने हिडडुल गर्दा पनि लामो बाउला भएको कपडा लगाउनु पर्ने स्वास्थ्य प्रमुख अधिकारी बताउँछन् । ‘लामखुट्टेको बासस्थान नै नष्ट पार्नु नै प्रमुख रोकथाम हो’ अधिकारीले भने ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग चिकित्सक बताउँछन् । एडिस लामखुट्टेले माीनसलाई दिउँसो मात्र टोक्ने गर्दछ । डेंगु रोग मानिसबाट मानिसमा सिधैं सर्दैन । सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमला लगायतका स्थानमा यसले फुल पार्दछ ।

‘सबै जागौं, सबै लागौं वरीपरी जमेका पानी हटाई डेंगु भगाऔं’ भन्ने मुल नारा नाराका साथ अभियान गरिएको कार्यालयले जनाएको छ । डेंगुको सङ्क्रमण अहिले पनि फैलिरहेकोले लामखुट्टे, लार्भा र अण्डालाई नष्ट गर्ने अभियान सफल पार्न खोज र नष्ट गर भन्ने अभियानलाई निरन्तरता दिईएको अधिकारी बताउँछन् ।

डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको चिकित्सकको भनाइ छ

डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न लगायतका चिन्ह र लक्षणहरु देखापर्ने चिकित्सहरु बताउँछन् । लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्न चिकित्सकले सल्लाह दिएका छन् ।