तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले उम्मेदवारी नदिने भएको छ । यो समूह नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने योजनामा छ ।

यही विषयमा निर्णय गर्न आज दमौलीमा जोशी समूहको बैठक बस्दै छ । ‘बुवासँग केही नहुँदा पनि दुई दशकदेखि निरन्तर साथ दिनेहरूको आज बैठक बस्दै छ,’ गोविन्दराजका छोरा दीपकले भने, ‘उठे म नै उठ्ने थिएँ । तर, मेरो योजना छैन । बुवा उठ्नुहुन्न । कसलाई साथ दिने बैठकले निर्णय गर्छ ।’

कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका जोशीले मंसिरको चुनावमा तनहुँमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ५ देखि ७ हजार मत रहेको आकलन छ । जोशीले ४ मंसिरको निर्वाचनमा ६ हजार ८८६ मत ल्याएका थिए ।

तनहुँमा जोशी समूहको मतले निर्णायक भूमिका खेल्न सक्छ । तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पधी हुन् ।

गोविन्दराजका छोरा दीपक एमालेले सहयोग गरेको भए उठ्न तयार थिए । तर, एमालेले आफ्नै पार्टीका नेतालाई टिकट दिएपछि यसपटक जोशी समूहले स्वतन्त्र उम्मेदवारी नदिई कुनै एउटा दललाई सहयोग गर्ने भएको हो । -शिलापत्र