
तनहुँको व्यास नगरपालिका–५, निबुवाखोलास्थित खेलमैदानमा आगामी जेठ १५ देखि १७ गतेसम्म खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
‘द नाइनटिज युवा क्लब’को आयोजनामा युवाहरूको प्रतिभा उजागर गर्ने र खेलकुदका माध्यमबाट वेदव्यासको जन्मभूमिलाई चिनाउने उद्देश्यले प्रथम ’द नाइनटिज’ भलिबल प्रतियोगिता गर्न लागिएको हो ।
क्लबका अध्यक्ष एक कुमार श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत दर्ता भई श्रेष्ठकै नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेसँगै क्लबले यो पहिलो ठुलो प्रतियोगिताको तयारी अगाडि बढाएको हो ।
व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ का युवाहरू संगठित भई सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने उद्देश्यले यो क्लब स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
खेलकुदका माध्यमबाट स्थानीय युवाहरूको प्रतिभा प्रवद्र्धन गर्ने र व्यास नगरपालिकाको गरिमालाई अझ उँचो बनाउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
खेल भव्य रूपमा सम्पन्न गर्न ठुलो आर्थिक स्रोत आवश्यक पर्ने भएकाले विभिन्न सहयोगी मनहरूसँग सहयोगका लागि आह्वान क्लबले गरेको छ । वडाको सिफारिस वा क्लबको लेटरप्याडमा खेलाडीको नाम उल्लेख गरी वडा स्तरबाटै उत्साहजनक सहभागिता जनाउने गरी आवश्यक तयारी भइरहेको क्लबले जनाएको छ ।
प्रतियोगितामा करिब ४० वटा टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । इच्छुक टोलीले ३ हजार ५०० रुपियाँ दर्ता शुल्कसहित आगामी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएप मार्फत टिम दर्ता गरिसक्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३३ हजार ३३३ रुपियाँ, द्वितीयलाई २२ हजार २२२ रुपियाँ र तृतीय हुने टोलीलाई ११ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै उत्कृष्ट विभिन्न विधाका खेलाडीहरूलाई पनि ट्रफी र मेडलद्वारा पुरस्कृत गरिनेछ । खेललाई व्यवस्थित बनाउन आर्थिक, प्रचार–प्रसार, मञ्च, यातायात र अतिथि सत्कार लगायतका उपसमितिहरू गठन गरी तयारीलाई तीव्रता दिइएको क्लबले जनाएको छ ।




