
गुरु पूर्णिमा एवं व्यास जयन्ती विशेष
बसन्त कंडेल
आज गुरु पूर्णिमा एवं व्यास जयन्ती । विश्वका गुरुहरुका पनि गुरु महर्षि वेदव्यासको अवतरण दिवस भएकाले आजको दिन विशेष महत्वको छ । गुरु अर्थात अन्धकारबाट उज्यालो तर्फको यात्रामा पथ पदर्शित गर्ने व्यक्ति, त्यसैकारण पनि हिन्दु र अन्य धर्मालम्बीहरुका लागि महर्षि वेदव्यास असली गुरु एवं साक्षात भगवान हुन् । तिनै महागुरु अर्थात महर्षि वेदव्यासको जन्म तनहुँको सदसमुकाम दमौली स्थित पवित्र नदी सेती र मादीको संगमस्थलमा भगवान श्रीकृष्णको २८ औं अवतारका रुपमा भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । किम्बन्दन्ती अनुसार, बेदव्यासले सेतीमादी नदीको संगमस्थलमा रहेको गुफामा बसेर चारवेद, अठ्ठार पुराण, भागवत गीता र संसारको सबैभन्दा चर्चित महाकाव्य महाभारतको रचना गरेर भाषा, साहित्य, हिन्दु वैदिक दर्शन र धर्मको क्षेत्रमा अतुलनीय योगदान गरे । तर विडम्वना, यही पवित्र व्यासभूमि अझैसम्म पनि ओझेलमा परेको छ ।
नेपालको मध्यविन्दुमा अवस्थित तनहुँ जिल्ला धार्मिक ,ऐतिहासिक, सांस्कृतिक, साहित्यिक, र प्राकृतिक दृष्टिले निकै उर्वर भूमि मानिन्छ । तपोसाधना, ज्ञानसाधना, साहित्यसाधना काव्यसाधना र प्राकृतिक सौन्दर्य साधनाको दृष्टिले यो जिल्ला नेपालकै महत्वपूर्ण जिल्लाको रुपमा परिचित छ ।
विश्वप्रसिद्ध धार्मिक साहित्यहरुका रचनाकार, पूर्वीय साहित्य र दर्शनका प्रणेता महर्षि बेदव्यास र नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लामा हुनुले पनि तनहुँबासी अनि सम्पूर्ण नेपालीहरु गौरवान्वित हुन स्वभाविक हो । तर बेदव्यास र भानुभक्त तनहुँमा जन्मेका हुन भनेर गौरव गर्नु बाहेक अन्य खासै उल्लेखनीय कामहरु यस भूमिमा भएका छैनन् ।

ऐतिहासिक यो व्यास भूमिमा व्यास, उनका बुवा परासर र आमा सत्यवतीका जीवनसंग सम्बन्धित विभिन्न अवशेष र प्रमाणहरु अझै पनि देख्न पाइन्छ । व्यास गुफा, पराशर गुफा, जयशिला, व्यास कुण्ड, शिवकुण्ड, सत्यवतीको प्रशवशिला, राजा उपरीचरले पालेको बाजको शीला, सत्यवतीको आमाको शीला, लगायतका थुपैै्र पुरातात्विक महत्वका चीजहरु देख्न सकिन्छ । त्यस्तै विभिन्न समयमा निर्माण गरिएका यज्ञमण्डप, साधुसन्त आश्रम, पाटीपौवा, बरपीपल चौतारी लगायतका शिव पाञ्चायन मन्दिर, हनुमान मन्दिरहरु पनि यहाँ छन् । वेदव्यासका बारेमा केही अध्ययन अनुसन्धान, बेदव्यासकै नाउँमा बैदिक पुस्तकालय, सत्सङ्ग भवन, जेष्ठ नागरिक मिलन केन्द्र, बृद्धाश्रम, गौशाला लगायतका पक्षहरु निर्माण गरिएका छन् । यसका साथै व्यास क्षेत्रको विकासका लागि व्यास क्षेत्र बिकास कोष, व्यास क्षेत्र शिवपाञ्चायन मन्दिर संरक्षण समिति, व्यास क्षेत्र परिक्रमा समिति लगायतका संस्थाहरु गठन भएका छन् । व्यासका २८ अवतारहरुको मूर्ति निर्माण गरेर व्यास गुफा परिसरमा स्थापना गरिएका छन् । तर, यी पक्षहरुले मात्र व्यास जन्मस्थलको महत्व र गरिमालाई विश्वसामु चिनाउन मुस्किल पर्दछ ।

व्यास जन्मभूमिको विश्वव्यापी प्रचारप्रचार गरि यसको धार्मिक महत्वलाई उजागर गर्नसकेमा यसक्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । व्यास क्षेत्रको बृहत्तर विकासका लागि व्यास क्षेत्र बिकास समिति पनि गठन भएको छ । तर त्यस समितिले पनि खासै काम गर्न सकेको छैन् । समिति गठनका बेलामा मात्रै रस्साकस्सी हुने र त्यस पछि समिति पुरै निष्क्रिय जस्तै रहेको छ ।
व्यास क्षेत्रमा रहेको पञ्चमन्दिर ,त्यसको परिसर र त्यहाँ निर्माण भएका भौतिक पूर्वाधारहरुले जगहसाईको काम गरेको छ । बर्षैभरि नै विभिन्न धार्मिक गतिविधीहरु आयोजना हुने सो क्षेत्रको विकास र पूर्वाधार निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन् । त्यस्तै व्यास गुफामा हुने विभिन्न गतिविधी र धार्मिक कार्यहरुको पनि पारदर्शिता र प्रचारप्रसार हुन सकेको छैन् भने व्यास गुफा र शिव पाञ्चायन मन्दिरमा हुने दानदातव्यको पनि लेखाजोखा छैन । व्यास जन्मभूमिको बृहत्तर विकासका लागि भनेर लगाइएका महायज्ञ र धार्मिक अनुष्ठानहरुले खासै प्रतिफल दिन सकेको छैन भने १०८ फीट अग्लो बेदव्यासको मूर्ति निर्माण कार्य कागजमै सीमित भएको छ ।
यसैबीच, कतिपय मानिसहरु व्यासको नाम र जन्मस्थललाई भँजाएर आँफुहरु भर्याङ उक्लिरहेका छन् । पूर्वीय साहित्य र दर्शनका प्रणेता वेदव्यासकै जन्मथलो र कर्मथलो भएकै कारणबाट मात्र दमौलीको परिचय आज सार्वजनिक रुपमा आएको हो । यदि वेदव्यास दमौलीमा नजन्मेको भए यो ठाउँ आज यतिसम्म पनि परिचित हुने थिएन होला । यस कुरालाई पनि दमौलीबासीले सम्झनु जरुरी छ । वेदव्यासकै सम्मानमा जिल्लाकै पहिलो नगरपालिकाको नामाकरण गरिएको छ भने अन्य दर्जनौं संघसंस्थाले व्यासको नाम जोडेर व्यवसायिक र पेशागत फाइदा लिएका छन् । तर नगरपालिका र संस्थाहरुको नामाकरण गर्नु बाहेक अन्य विशेष काम हालसम्म भएको छैन् ।

जिल्लाका विभिन्न नेताहरु देश र राज्य निकायको उच्च ओहोदा र शक्तिमा पुग्दा पनि व्यास क्षेत्रले काँचुली फेर्न सकेन । यति सम्मकी व्यास क्षेत्र विकास समितिलाई सरकारी मान्यता दिलाएर राज्यबाट बर्षेनी केही सहयोग पाईने सम्भावना हुँदा पनि त्यसको पहलकदमी हुन सकेन् । राज्यले धार्मिक, साँस्कृतिक , पर्यटकीय र ऐतिहासिक सम्भावनाका क्षेत्रहरुको पहिचान गरेर त्यसको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता जनाएपनि त्यसतर्फ खासै चासो दिन सकेको छैन् । राज्य निकायबाट पनि यस क्षेत्रले सधैं उपेक्षा व्यर्होनु परेको छ ।
बेदव्यासको जन्मस्थलमा जुन खालको साहित्यिक र धार्मिक गतिविधीहरु हुनुपर्ने हो त्यो हुनै सकेको छैन । साहित्यिक र धार्मिक तीर्थस्थलको केन्द्र हुनुपर्ने दमौली अहिले जुवातास , लागुपदार्थ र यौनधन्दाको केन्द्रमा परिणत भएको छ । व्यास र पराशर क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका चीजहरु र पछि निर्माण गरिएका भौतिक संरचना अहिले खण्डहर र भग्नावशेषमा परिणत हुन थालेका छन् तर संरक्षण गर्ने कुरामा सबै मौन छन् ।
व्यास गुफाको भ्रमण र अबलोकन गर्नका लागि दैनिक जसो केही आन्तरिक र वाह्य पर्यटकहरु यहाँ आउने गरेको भएतापनि यसको प्रचारप्रसारको अभावमा यो पवित्र भूमि ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेको भनाई छ । साहित्यिक र धार्मिक दृष्टिकोणले मात्र नभई प्राकृतिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यो भूमिको उचित संरक्षण, सम्बर्धन, विकास र प्रचारप्रसार हुन नसक्दा दिनानुदिन ओझेलमा परेको छ । यो भूमिको प्राचीन, धार्मिक, पुरातात्विक र साँस्कृतिक महत्व लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
वास्तवमा, वेदव्यासको जन्म भूमि र तपोभूभि दमौलीलाई एउटा साहित्यिक र धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । जसका लागि स्थानीय जनता, स्थानीय सरकार र राज्य निकायबाटै नीति र योजनाहरुको निर्माण गरेर ठोस कदमहरु चाल्नु पर्ने देखिन्छ । सबै पक्ष एकजुट भएर लागेमा यो क्षेत्र विश्वकै एक उत्कृष्ट मध्येको साहित्यिक, धार्मिक र पर्यटकीय गन्तव्य बन्न सक्नेमा दुईमत छैन् ।




