
व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको सहिद चन्द्र नेपाली छात्रावास भवनको उद्घाटन गरिएको छ । क्याम्पस परिसरमा सहिद नेपालीको सम्झनामा छात्रावास, पार्क र शालिक निर्माण गरिएको हो ।
२००७ साल माघ १ गते राणा शाहीको गोलीबाट तनहुँको तत्कालिन सदरमुकाम बन्दीपुरमा सैनिक हिरासत मारिएका व्यास नगरपालिका–११ तनहुँसुर निवासी चन्द्रबहादुर सार्की(नेपाली)को सम्मानमा निर्माण गरिएको हो ।
सो छात्रावासको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरे । सो अवसरमा मन्त्री विकले सहिदको सम्मानमा पार्क तथा छात्रावास सञ्चालनमा आएको क्षण आफू जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताए । सहिदको योगदानलाई जीवन्त राख्न यस्ता पार्क तथा छात्राबासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, निवर्तमान सदस्य सरिता गुरुङ, जिल्ला समन्व्य समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले छात्रावासको क्षमता विस्तारको लागि सबै जना एकजुट हुनुपर्ने र भविश्यमा छात्रहरुको लागि पनि आवासको व्यवस्था गर्न पहल कदमी गर्न जरुरी रहेकोमा जोड दिए ।

छात्रावासको परिकल्पनाकार पूर्व राष्ट्रिय सभाका सदस्य ऋषिबाबु परियार हुन भने यसलाई मूतरुप दिने कार्य नेपाली कांग्रेस तथा गण्डकी प्रदेशका मन्त्री विकले गरेको छात्रावास सञ्चालक समितिका पूर्व अध्यक्ष केशबहादुर सुनारले जानकारी दिए ।
छात्रावास निर्माणको लागि २०५८ साल श्रावण १० गते मन्त्री बिककै संयोजकत्वमा निर्माण समिति गठन गरी सर्वप्रथम राष्ट्रिय सभाका सदस्य परियार एक लाख ५० हजार आर्थिक सहायता प्रदान गरेपछि काम सुरुवात गरिएको सुनारले जानकारी दिए । सरकारका विभिन्न निकायबाट १ करोड ११ लाख ७७ हजार प्राप्त भई पहिलो तला पुरा भएपनि माथिल्लो तल्लाको लागि रकम अभाव भएको सुनारले सो अवसरमा जानकारी दिए ।
छात्रावास निर्माणको लागि व्यास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा दमौली स्थित निर्मल माध्यामिक विद्यालयका तत्कालिन प्रधानाध्यापक रमेशचन्द्र हड्खले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज खनालले जग्गा उपलब्ध गराउन मद्धत गरेको सुनार बताउँछन्। निर्मल माध्यामिक विद्यालय नाउँमा रहेको जमिन आदिकवि भानुभक्त क्याम्पसका तत्कालिन प्रमुख तथा हाल व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनको लागि सहज बनाउन जग्गा माग गरेपछि विद्यालयले भोगाधिकार दिएको सुनारले जानकारी दिए। सुनारका अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, संविधान सभा सदस्यद्धय रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपाने, व्यास नगरपालिका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, समाजसेवी मोतीकुमार श्रेष्ठ, बुद्धिकुमार बतास महत्वपूर्ण भूमिका रहेको उद्घाटन कार्यक्रममा सुनारले जानकारी दिए ।
निर्मल माध्यामिक विद्यालयले दुई रोपनी ४ आनाको जग्गा भोगधिकार प्राप्त भएपछि छात्रावास निर्माण कार्य अघि बढेको सो अवसरमा जानकारी दिईयो । आर्थिक रुपमा कमजोर, पिछडिएका, जेहेन्दार उच्च शिक्षामा अध्ययनरत छात्रालाई अध्ययनमा सुविधा पुगोस् भनेर छात्रावास सञ्चालनमा ल्याईएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
हाल सो छात्रावासमा ३२ जना छात्राले सुविधा प्राप्त गरेको क्याम्पसले जनाएको छ। छात्रावासमा बस्न चाहने विद्यार्थीको माग धेरै भएकोले क्षमता बढाउन जरुरी रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
पार्क गण्डकी प्रदेश सरकारको ५ लाख रुपियाँ सहयोगमा निर्माण गरिएको सो अवसरमा जानकारी दिईएको थियो। पार्कमा सहिद चन्द्र नेपाली सार्कीको प्रतिमा रहेको छ ।




